• १२ साउन २०८२, सोमबार

ग्वंगः र गर्गलाई पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १२ गते । संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःलाई ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार–२०८२’ र कलाकार उर्मिला उपाध्याय गर्गलाई ‘सेवा पुरस्कार नेपाल–२०८२’ प्रदान गरिएको छ । 

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सो पुरस्कार प्रदान गर्नुभयो । गुठीद्वारा हरेक वर्ष प्रदान गरिने यी दुई पुरस्कारको राशि जनही दुई लाख २२ हजार २२२ रुपियाँ रहेको छ । नेता डा. कोइरालाले आफ्नो नागरिकतामा कर्मयोगी बद्रीविक्रम थापाले हस्ताक्षर गर्नुभएको स्मरण गर्दै कोइराला परिवार पञ्चायत व्यवस्थाविरोधी भए पनि तत्कालीन कोशी अञ्चलाधीश बद्रीविक्रम थापासँग पारिवारिक जस्तै सम्बन्ध रहेको चर्चा गर्नुभयो । कर्मयोगी थापाको १०३ औँ जन्मजयन्तीका क्रममा आयोजित कार्यक्रममा श्रमको सम्मानस्वरूप सानुकान्छी तामाङ र मीनु मालाकारलाई २५ हजार रुपियाँसहित सम्मान गरिएको थियो । 

सोही अवसरमा गुठीको मुखपत्र ‘सेवा नेपाल–२०८२ दमननाथ श्रद्धाञ्जली’ अङ्क र ‘बहुआयामिक व्यक्तित्व दमननाथ ढुङ्गाना’ गरी दुई कृति सार्वजनिक गरियो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको उपस्थिति थियो ।