अविनाश चौधरी
धनगढी, साउन १२ गते । कैलालीको दुई पालिकामा भोलि स्थानीय सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको गुरही पर्वको अवसर पारेर धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् । श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् ।
यसलाई बालबालिकाको पर्वको रुपमा पनि लिइने गरिन्छ । गुरही पर्व मनाएमा बालबालिकालाई रोगव्याधि नलाग्ने, गाउँघरमा कुनै दैवीय विपत्ति नआउने जनविश्वास रहेको पाइन्छ ।
यो पर्वको अवसरमा दुवै पालिकाको कार्यालय र मातहतका सरकारी कार्यालयहरु, शिक्षण संस्था, विभिन्न सङ्घसंस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।