बोमलाल गिरी
नवलपुर, साउन १२ गते । मिटरब्याजको आरोपमा २४ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटेका नवलपुरको कावासोती नगरपालिका–२ इन्द्रचोकका ३९ वर्षीय अमृत भुसालसहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ ।
कावासोतीमा रहेको होण्डा शो रुमका सञ्चालकसमेत रहेका भुसाल, भुसालकी श्रीमती सविता काफ्ले, प्रमु बैंक (साविक सेन्चुरी विकास बैंक) चोरमारा शाखाका प्रमुख राजेश खरेल र लक्ष्मी सनराइज बैंक, चितवनमा कार्यरत सविता अर्यालविरुद्ध मिटरब्याज, हस्ताक्षर किर्ते, जालसाजी र ठगीको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
चारैजना माथिको पूरक अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएसँगै मुद्दा दायर भएको हो । मुद्दा दर्तासँगै भुसाल, खरेल र अर्याललाई मध्यबिन्दु नगरपालिका–७ का रामप्रसाद महतोको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।
बैंकका कर्मचारीहरु खरेल र अर्यालले चेकमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्न भुसाललाई सहयोग गरेको अभियोग लगाइएको छ । किर्ते र ठगी मुद्दामा भुसालकी श्रीमती सविता काफ्लेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको र काफ्लेलाई पक्राउ गर्न नसकिएको ढकालले बताउनुभयो ।
भुसालले मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाललाई गत साउन २७ गते पक्राउ गरिएको थियो । नवलपुर जिल्ला अदालतले २४ दिनपछि भुसालका बारेमा थप अनुसन्धान गर्नु पर्ने भन्दै हाजिरी जमानीमा छोडेको थियो । पछि प्रहरीले प्रतिवेदन बुझाउँदा पूरक अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रहरीको प्रतिवेदन बुझ्न मानेको थिएन ।
गत साउन २७ गते गोरखापत्रले ‘रोकिएन मिटरब्याजको शोषण, ३६ लाख दिएर दुई करोड असुली’ शीर्षकमा समाचार छापेको थियो । त्यसपछि प्रहरी निरन्तर प्रमाणहरु सङ्कलनमा जुटेको थियो । झण्डै एक वर्ष लगाएर पुरक अनुसन्धान गरी थप प्रमाणसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
यस्तो छ घटना विवरण
२०७६ जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भुसालबाट प्रतिदिन १५ हजार रुपियाँ ब्याज तिर्ने गरी १० लाख रुपियाँ लिनुभयो । त्यसमा ४० लाख थपिदिएर ५० लाख पुर्याइदिने र मासिक पाँच लाख रुपियाँका दरले ब्याज बुझाउने सर्त थियो । त्यही सर्त मञ्जुर गरेर महतोले मध्यबवन्दु–७ को चार कट्ठा छ धुर जग्गा भुसाललाई दृष्टिबन्धक गरिदिनुभयो । भुसालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराउनुभयो ।
५० लाख पुर्याइदिने सर्त भए पनि भुसालले सुरुमा १० लाख, २०७६ असार २ गते १६ लाख ५४ हजार ६६२ रुपियाँ र अन्तिम पटक १० लाख गरी जम्मा ३६ लाख ५४ हजार ६६२ रुपियाँ मात्र महतोलाई दिएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकालले बताउनुभयो ।
“पहिले दिएको १० लाखको साँवा र चक्रवर्ती ब्याजसमेत जोडेर २० लाख ४५ हजार ३३८ रुपियाँ पुगिसकेको हुँदा सोसमेत गरी ५० लाख पुग्यो भनी भुसालले महतोसँग थप १० लाख मिटरब्याजमा लिएको देखिन्छ । त्यति मात्र होइन, उक्त रकमको छ महिनासम्म मासिक पाँच लाखका दरले २९ लाख छ हजार रुपियाँ महतोले भुसाललाई बुझाएको देखिन्छ,” ढकालले भन्नुभयो ।
जग्गा फिर्ता पाउने आसमा महतोले साढे ३६ लाखको चक्रवर्ती ब्याज स्वरूप ३२ लाख रुपियाँ बुझाएको प्रमाण रहेको प्रहरीको भनाइ छ । भुसालले जग्गा फिर्ता दिन नमानेपछि महतोले अदालतबाट जग्गा रोक्का त गराउनुभयो तर जग्गा अहिले पनि फिर्ता नभएको महतोको भनाइ छ ।
महतोले भुसाललाई निरन्तर ब्याज बुझाउनुपर्ने थियो तर कोरोना सुरु भइसकेपछि ब्याज बुझाउन नसक्दा महतोले छ महिनापछि भुसाललाई ३० लाखको चेक दिनुभयो । प्रहरीका अनुसार पुनः पाँच महिनापछि ६० लाख पुगिसक्यो भनेर भुसालले पहिलाको ३० लाखको चेक फिर्ता नगरी डर त्रास देखाई फेरि ६० लाखको चेक लिएका थिए ।
महतोले सापटी लिएको रकम र सोको मिटर ब्याजसमेत जोडी ५० लाख पुग्यो भनिएको रकमको चक्रवर्ती ब्याजसहित पटक पटक गरी एक करोड ५७ लाख १५ हजार ४११ बैङ्क चेकबाट तथा ४४ लाख ५१ हजार एक सय रुपियाँ नगद गरी दुई करोड एक लाख ६६ हजार ५११ रुपियाँ भुक्तानी भुसालले लिएको प्रमाणहरूले देखाएको प्रहरीको दावी छ ।
किर्ते हस्ताक्षर गरी रकम निकासा
भुसालले रामप्रसादलाई ६९ लाख रुपियाँ बैङ्कमा हालिदिएको जानकारी गराए पनि महतोले भने आफूले ६९ लाख रुपियाँ माग्दै नमागेको रकम खातामा हालिदिएकोमा विश्वास नै नलागेको बताउनुभयो । २०८० चैत २८ गते बैङ्क स्टेटमेन्ट निकाली हेर्दा साबिकको सेन्चुरी बैङ्क र हालको प्रभु बैङ्कमा रहेको आफ्नो न्यु प्रवासी सुपर स्टोर्सको खातामा २०७६ जेठ १२ मा ६९ लाख रुपियाँ जम्मा गरेको त देखियो तर उक्त रकम जम्मा गरेको एक दुई मिनेटको अन्तरमा महतोका चार वटा चेक प्रयोग गरी भुसाल स्वयंले रामप्रसाद र श्रीमती रीता महतोको नाममा आफैँ चेक काटी आफैँले रकम लिएको देखिएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।
चेकबाट पैसा निकाल्ने क्रममा भुसालले महतो र उहाँकी श्रीमतीको नक्कली हस्ताक्षर गरेको पुष्टि भइसकेको छ । “उक्त हस्ताक्षर विधिविज्ञान प्रयोगशालामा पठायौँ तर प्रयोगशालाले भुसालले चेकमा गरेका सबै हस्ताक्षर महतो दम्पतीको नभई भुसालले नै गरेको नक्कली हस्ताक्षर हो भनी प्रमाणित गरेको छ,’’ जिल्ला प्रहरी कार्यालय नवलपुरका तत्कालीन प्रमुख (हाल जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख) नरहरी रेग्मीले सोही बेलै भन्नुभएको थियो ।
कावासोतीको होन्डा सोरुमका सञ्चालकसमेत रहेका भुसालले चेकबाट पैसा निकाल्ने क्रममा बैङ्कका कर्मचारीसँग पनि मिलेमतो भएको भन्दै प्रहरीले प्रमुख बैंक (साविक सेन्चुरी विकास बैंक) को चोरमारा शाखाका प्रमुख राजेश खरेललाई पनि पक्राउ गरेको जनाएको छ ।
पिडीत रामप्रसाद महतोले अव भने न्याय पाउने आशा जागेको बताउनुभएको छ । ‘‘ऐन कानुन सानालाई मात्र लाग्ने रहेछ भन्ने लागेको थियो तर प्रहरीले पुरक अनुसन्धान गरेर मुद्दा दर्ता गरेपछि ढिलै भए पनि अब न्याय पाइने भयो भन्ने महसुस भएको छ,’’ महतोले भन्नुभयो ।