राममणि दाहाल
मकवानपुर, साउन १२ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन सोमबारबाट प्रक्रिया थालिने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन पार्टी केन्द्रीय समितिले खटाएको केन्द्रीय पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था अनुसार केन्द्रीय पर्यवेक्षकमा कांग्रेस केन्द्रीय सदस्य राजन केसीलाई पठाएको छ ।
केन्द्रीय केसीले दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठक राखेर अविश्वासको प्रस्तावको प्रक्रिया थालिने जानकारी दिनुभयो ।
उहाँले अविश्वासको प्रस्तावलाई सकेसम्म सहमतिबाट समाधान गरिने र सहमति जुट्न नसकेमा प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
बागमतीका मुख्यमन्त्रीसमेत रहनुभएका लामाविरुद्ध कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । साउन ९ गते लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
पहिलो चरणमा प्रस्तावमाथि छलफल र अविश्वासको प्रस्तावमाथि मत विभाजनबाट निर्णय गरिनेछ ।
अविश्वासको प्रस्ताव पारित भएमा मात्र संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाइने भएको छ । संसदीय दलको बैठकबाट नेता चयन गर्न आवश्यक चुनावी प्रक्रियाका लागि मिति तोकिनेछ ।
साथै संसदीय दलको नेता गोप्य मतदानबाट चयन गर्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण जो दलको नेता बन्छ उसैले सरकारको नेतृत्व गर्ने केसीको भनाइ छ ।
मुख्यमन्त्री लामाले आफ्नोविरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई यसअघि नै पदमुक्त गरिसक्नुभएको छ । यसअघि भएको संसदीय दलको नेताको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाउनुभएको थियो ।