• १३ साउन २०८२, मङ्गलबार

इरानमा मृत्युदण्डको घटनामा वृद्धि भएकोमा राष्ट्रसङ्घद्वारा चासो व्यक्त

blog

जेनेभा, साउन १२ गते । संयुक्त राष्ट्रसङ्घले इरानलाई मृत्युदण्डको प्रयोग नगर्न आग्रह गरेको छ । इरानमा यस वर्ष अहिलेसम्म कम्तीमा ६१२ जनाको मृत्युदण्डको सजाय भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको वक्तव्यमा भनिएको छ, “इरानमा यस वर्ष अहिलेसम्म सयौं लाई मृत्युदण्ड दिइएका समाचारले स्थिति कति विकराल बनेको छ भन्ने स्पष्ट हुन्छ । मृत्युदण्डको प्रयोगमा तत्काल रोक लगाउनुपर्ने आवश्यकतालाई यसले उजागर गरेको छ ।”

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीअनुसार सन् २०२५ को पहिलो छ महिनामा कम्तीमा ६१२ जनालाई मृत्युदण्ड दिइएको छ । यो सङ्ख्या सन् २०२४ को सोही अवधिमा इरानी अधिकारीहरूले मृत्युदण्ड दिएको सङ्ख्याभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२४ को पहिलो छ महिनामा इरानमा २९७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको कारण इरानी अल्पसङ्ख्यकहरू असमान रूपमा प्रभावित भएका राष्ट्रसङ्घले बताएको छ । तुर्कले भन्नुभयो, “अहिले कम्तीमा ४८ जना मृत्युदण्डको सजाय भोगिरहेका छन्, जसमध्ये १२ जना मृत्युदण्डको जोखिममा रहेको अनुमान गरिएको छ । यस वर्ष मृत्युदण्ड दिइएकामध्ये ४० प्रतिशतभन्दा बढीलाई लागुऔषध सम्बन्धी अपराधमा दोषी ठहर गरिएको छ भने अन्यलाई ‘ईश्वरविरुद्ध शत्रुता’ र ‘जननीमाथिको भ्रष्टाचार’ जस्ता व्यापक र अस्पष्ट अभियोगमा मुद्दा चलाइएको उहाँको कार्यालयले जनाएको छ ।

तुर्कका अनुसार उहाँको कार्यालयले सङ्कलन गरेको सूचनाले धेरै मुद्दामा न्यायिक प्रक्रिया प्रायः बन्द कोठामा हुने गरेको र उचित प्रक्रिया र निष्पक्ष सुनुवाइको प्रत्याभूति पूरा गर्न लगातार असफल भएको सङ्केत गरेको छ । धेरै गैरसरकारी संस्थाहरूले इरानसँगको १२ दिने युद्धपछि इरानी अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेको र दर्जनौंलाई दमनको क्रममा मृत्युदण्ड दिएको बताएका छन् ।

एम्नेस्टी इन्टरनेसनल लगायतका मानव अधिकार समूहका अनुसार इरानले गम्भीर अपराधका लागि मृत्युदण्डको व्यवस्था गर्दै आएको छ र चीनपछि विश्वको दोस्रो सबैभन्दा ठूलो मृत्युदण्ड दिने मुलुक बनेको छ । इरानमा मृत्युदण्डको सजाय सामान्यतया बिहानको समयमा झुण्ड्याएर दिइन्छ । रासस/एएफपी