• १२ साउन २०८२, सोमबार

पशुपालनबाट गंगाले जुटाएको हिम्मत

blog

समुहमा सवैभन्दा धेरै दुध बेचेपछि सम्मानित हुँदै सुत्यवति गाउँपालिका–६ की गंगा अर्याल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन 
१२ गते । गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङ्गकी ३६ वर्षीया गंगा अर्याल गाउँमा अर्थोपार्जनको कुनै आधार नभएपछि छोराहरु सासुसँग छोडेर २०८० सालमा युएई पनि जानुभयो । युएई पुगेको आठ महिना नपुग्दै सासु बितेपछि परदेश जान काढेको ऋण नर्तिदै घर फर्किनु पर्‍यो । छोराछोरीका जिम्मेबारी काँधमा बोकेर खोजेको ऋणले रोजेको बाटो बन्द भएपछि गंगा विक्षिप्त बन्नुभयो ।

उहाँको २०६४ सालमा बिहे भएको हो । बिहे भएको केही दिनमै श्रीमानसँगै भारत पस्नु भएकी अर्यालका बालबच्चा पनि भए । गंगा बिचमा घर आउ–जाउ पनि गर्नुहुन्थ्यो । तर, दुई छोराहरु जन्मिएपछि श्रीमानसँगको सम्बन्ध टाढा हुँदै गयो । अहिले श्रीमान सम्पर्कमै नआएको पाँच वर्षभन्दा बढी भएको अर्यालले गुनासो गर्नुभयो ।

श्रीमानले वास्था गर्न छोडेपछि गंगालाई बाध्यताले परदेश हुँदै अहिले पशुपालनसम्म पुर्‍याएको छ । परदेशबाट आठ महिनामा फर्किदाँ तिर्न बाँकी ऋणमा गंगालेले फेरि २८ हजार रुपियाँ थपेर गाउँमा गाई खरिद गर्नुभयो । पहिलो गाईबाट आम्दानी राम्रो हुँदै गएपछि अहिले अर्यालको गोठमा एउटा दुध दिने गाई र तीन वटा ब्याउने गाईभैँसी छन् ।

अहिले दैनिक १८ लिटर दुध बेच्ने अर्यालले भदौबाट ५० लिटरभन्दा बढी पुर्‍याउनुहुन्छ । साना किसान हुँदै श्रीकृष्ण डेरी पकेट समूहको सहुलियत ऋण र गाउँपालिकाले अनुदान तथा उर्जाले गंगाको जीवन फेरिँदै गएको छ । छोराहरु हुर्कदै गएपछि खर्चपनि बढ्दै गएको छ । परदेशको ऋण, सासुको किरिया हुँदै गाईभैँसी खरिदमा लागेका पैसा लगभग तिर्न सक्ने अवस्थामा भएकाले खुसी मिलेको गंगाले बताउनुभयो । गत आर्थिक वर्षको ११ महिनामा १० हजार ४९८ लिटर दुध बेचेर आठ लाख २६ हजार १६० रुपियाँ कमाएपछि गंगालाई गाउँपालिकाले ३० हजार ९८१ रुपियाँ उत्पादनमा आधारित अनुदान र श्रीकृष्ण डेरी पकेट समूहले सम्मान गरेको छ ।

परदेशमा १५ घण्टा काम गरेर कमाउनेभन्दा घरमा आफ्ना बालबच्चासँग बसेर धेरै कमाई गर्न थालेको अर्यालले बताउनुभयो । किसानलाई उत्प्रेरणा दिन श्रीकृष्ण डेरी पकेट समूहले दुध उत्पादनको आधारमा किसानलाई सम्मान गरेको छ । अर्यालले समूहमा सबैभन्दा धेरै दुध उत्पादन गरेर प्रोत्साहन रकम पाउनुभएको छ । भने सावित्रा ढकाल दोस्रो र रोसन ढकाल तेस्रो भएर अनुदान प्रोत्साहन रकम पाउने तीनै जनालाई सत्यवति गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे र उपाध्यक्ष निरमाया तरामुले सम्मान गर्नुभएको गाउँपालिकाका पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो ।

त्यस्तै समूह गठनदेखि हालसम्म किसानलाई दुध उत्पादन गर्न उत्प्रेरित गरी किसान र सिंगो समुदायको आयआर्जन जोड्ने पशुपन्छी शाखा प्रमुख खनाललाई समेत सम्मान गरिएको थियो । लप्रादी, पिपलनेटा र बाँसपाटाका २७ जना कृषक आवद्ध भएर २०७५/०७६ सालमा श्री कृष्ण डेरी पकेट समूह दर्ता भएको थियो ।

खेति बाँदरबाट जोगाउन सके छोराछोरी पाल्न सक्ने नियती भोगिरहेका स्थानीयले विस्तारै गाउँ छोड्ने अवस्थालाई समूह सहकारीमार्फत थालिएको व्यावसायीक पशुपालनले रोकेको पशु शाखा प्रमुख खनालले बताउनुभयो । अहिले उन्नत जातका गाईभैँसी पालेर श्री कृष्ण डेरी पकेट समूहले दैनिक २६० लिटर औषत दुध सङ्कलन गरेर सत्यवती दुध उत्पादक सहकारी मार्फत बजारीकरण गरिरहेको छ ।