काठमाडौँ, साउन १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता दुई महिनामा एक सय ४४ वटा चट्याङ्गका घटना घटेका छन् ।
प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो ६० दिनमा चट्याङ्गबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसैगरी, चट्याङ्गबाट ९६ जना घाइते भएका छन् । हिजो रातिदेखि सोमबार दिउँसोसम्म पछिल्लो २४ घण्टामा २५ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट एकको मृत्यु, तीन घाइते, छ सडक अवरोध, नौ चौपायाको क्षति भएको छ ।
प्राधिकरणका अनुसार दैलेखको महाबु गाउँपालिका-१, खौलोस्थित एक घरमा विद्युतको मिटर बक्समा चट्याङ्ग पर्दा १७ वर्षीय एक किशोर घाइते भएका छन् ।
यस्तै, कैलालीको कैलारी गाउँपालिका–७, छोट्की बसन्तास्थित एक भैँसी गोठमा नजिकैको सालको रुख खस्दा क्षति पुगेको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–११, बासखेडास्थित पार्किङ गरी राखिएको से.१त. ६२३९ नम्बरको ट्याक्टरमा नजिकैको सिसाैँको रुख ढल्दा सामान्य क्षति पुगेको छ ।
जलेर एकको मृत्यु
गुल्मीको धुर्कोट गाउँपालिका-५, धुर्कोट अमराईस्थित एक घरमा अचानक आगलागी हुँदा ३० वर्षीया एक महिलाको जलेर मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकस्थित ऐसान अटो अटोपार्टमा एक्कासी बिजुलीको तार सर्ट भई आगलागी हुँदा कम्प्रसर मेसिन, वाक्स मेसिन, ब्याट्री चार्जर लगायतका मेसिन जलेर क्षति भएको छ ।
जुम्लाको पातारासी गाउँपालिका–६, बातास्थित एक घरमा ग्यास चुलोमा आगो बाल्ने क्रममा एक्कासी आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर पूर्णरूपमा नष्ट भएको छ ।
राजमार्ग अवरुद्ध
प्राधिकरणका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाँङ गाउँपालिका–७ को हेवाखोलामा बाढी आउँदा होम पाइपमाथि राखिएको ढुङ्गा गिट्टी बालुवाहरू बगाइ मेची राजमार्ग पूर्णरूपमा अवरोध भएको अवस्था छ ।
धनकुटाको चौविसे गाउँपालिका–४ र ५ को सीमामा रहेको तमर काेरिडोर सडक खण्डको छरुवा खोलामा वर्षाको कारण बाढी आउँदा तत्कालका लागि सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा पुगेको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएका एक जना नेपाली र चार जना भारतीयसहित पाँच जना जल लिन जाने क्रममा सुन्दरीजल खोलामा बाढी आई ढुङ्गामा फसेका थिए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६, फुल्चिङ्गबाट खेततर्फ सिँचाइका लागि आउने पानी एक घरभित्र पस्दा घर भत्किएको तथा भाडाबर्तन, अन्नतपात, लत्ताकपडासहित दुई वटा गाई हराइरहेको छ ।
किनारका बस्ती जोखिममा
बझाङको बुङ्गल नगरपालिका–७, दहघाटस्थित अविरल वर्षाका कारण घट्टेखोलामा आएको बाढीले एक घर आधा पुरिँदा पसलमा क्षति र किनारमा रहेका चार वटा घरहरू जोखिममा छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–९, चुहार दुम्माना कच्ची सडक खण्डमा माथिबाट खसेको पहिरोले बाटो पुरिएर बाटो अवरोध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा माथिबाट पहिरो आई बाटो पूर्णरूपमा अवरोध भएको छ ।
बाग्लुङको बाग्लुङ नगरपालिका–४, तल्लो बान्द्रेस्थित बाग्लुङ बेनी सडक खण्डमा माथिबाट सुख्खा पहिरो खसी बाटो पूर्णरूपमा अवरोध भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–३, दङ्खेरी भिर गिट्टीखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आएर बाटो पूर्णरूपमा अवरोध भएको छ ।
हुम्लाको चङ्खेली गाउँपालिका–३, मेखालामा रहेको घट्टेखोलाको जलविद्युतको नहर अन्दाजी १०० मिटर पहिरोले बगाइ क्षति पुर्याएको छ ।