• १२ साउन २०८२, सोमबार

कालीगण्डकी नदीमा झोलुङ्गे पुल बनेपछि यात्रा सहज

blog

मुस्ताङको थासाङङगाउँपालिका–२, कोवाङ–खन्ती–सौरु, सिर्कुङ जोड्ने कालीगण्डकी नदीमाथि ‘सस्पेन्सन’ झोलुङ्गे पुल । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), साउन १२ गते । मुस्ताङको थासाङ गाउँपालिका–२, सौरू आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक तुलाचनले कालीगण्डकी नदीमाथि ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनेपछि साढे ३ घण्टाको दुरी २० मिनेटमै पार गर्ने बताउनुभयो । 

बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गत कोवाङ–खन्ती–सौरु, सिर्कुङ जोड्ने झोलुङ्गे पुल बनेपछि प्रअ तुलाचनको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको छ । 

तुलाचन जस्तै खन्तीका युवा मनोज थापालाई कालीगण्डकी पारीका बस्तीहरूमा जान दैनिक साढे घण्टा लाग्थ्यो । हिउँदोमा कालीगण्डकी नदीबाटै तर्ने गर्नुभएका थापा बर्खाको समयमा घुमाउँरो बाटो हिँड्नुपर्नेमा अहिले घर नजिकै ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनेपछि सहज भएको छ । थासाङ गाउँपालिकाका विभिन्न बस्ती जोड्न पाँच सय ७० मिटर लम्बाइ र २ मिटर चौडाइ भएको पुल बनेपछि बर्खाको समयमा जोखिम मोलेर कालीगण्डकी नदी र कोखेठाँटीको झोलुङ्गे पुलबाट आवतजावत गनुपर्ने झन्झट हटेको प्रअ तुलाचनले बताउनुभयो । 

तुलाचन भन्नुहुन्छ, "गाउँबाट बिरामी बोकेर जाँदा बाटोमै ज्यान जाने गरेको थियो, कालीगण्डकीले बर्सेनि तर्ने क्रममा स्थानीयलाई बगाउँथ्यो, अब त निकै सहज भएको छ।" पुल बनेपछि स्थानीय उत्पादनलाई बजारीकरणमा समेत सहज भएको छ । हाल निर्मित पुलको प्रयोग गर्ने सबैजसो बस्तीबाट कम्तीमा एक जनाले कालीगण्डकी नदी तर्ने क्रममा ज्यान गुमाएको प्रअ तुलाचनको भनाइ छ । 

अब विगतमा स्थानीयले भाग्नुपरेको काहाली लाग्दो दिनको अन्त्य भएको भन्दै पुलले स्थानीयको मुख्य समस्या समाधान भएको उहाँको भनाइ छ । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनका अनुसार पुल नहुदाँ वृद्धवृद्धा र बालबालिकालाई घुराउरो बाटो हिड्दा सास्ती भएपछि कालीगण्डकी नदीबाटै पार गर्दा ज्यानै जाने गरेको थियो । 

वडाध्यक्ष शेरचन भन्नुहुन्छ, ‘‘पुल बनेपछि वषौंदेखिको सास्ती हटेको छ, गाउँलेमा खुसीयाली छाएको छ ।’’ पुल बनेपछि समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित मार्चे लेक, धौलागिरि, निलगिरि, टुकुचे हिमाल क्षेत्रमा जाने पर्यटकलाई समेत सहज भएको छ । हरेक वर्ष मार्चे लेकमा लाग्ने चौरीको आलो रगत पिउने मेलामा जानेहरूलाई झनै सहज भएको वडाध्यक्ष शेचरनको भनाइ छ । 

मार्चे लेकमा थासाङ गाउँपालिका भित्रका विभिन्न बस्तीबाट चौरी र पशुपालन गर्ने गरिएको छ । पुलको प्रयोग गरी थासाङ गाउँपालिका भित्रका अन्य पर्यटकीयस्थल, तालहरूमा समेत भ्रमण आउने पर्यटक लाभान्वित भएको र नयाँ गन्तव्य पहिचानमा समेत सहज हुने स्थानीयको भनाइ छ । बिक्रम संवत् २०७७ साल वैशाख ३० गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंँले इलाइट रुविना कन्सट्रक्सन जेभीसँग पाँच करोड लागतमा ठेक्का सम्झौता गरेकोमा कोरोना भाइरस, हिमपात, अत्यधिक जाडोसँगै अन्य विविध समस्या देखाउँदै पुल निर्माणमा ढिलासुस्ती भएको थियो ।  

दुई वर्ष अगाडि थासाङ गाउँपालिकाकै पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा ८३ मिटर लामो झोलुङ्गे पुल झोलुङ्गे पुल निर्माण भएपछि कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङ लगायत बस्तीका एक सय ७० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका थिए ।