• १२ साउन २०८२, सोमबार

‘जनताले अनुभूति गर्नेगरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौं’

blog

कार्यक्रममा सहभागी मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका सहभागीहरु । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

लीलाधर वली

घोराही, साउन १२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१-०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमवार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शीता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो । 

मुख्यमन्त्री आचार्यले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, "साल बसाली योजनामा रकमान्तरण नगर्नुहोस् । धेरै पहाड भत्काएर काम गर्नुको सट्टा आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गर्नु हो ।" 

उहाँले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्व बढाउन आग्रह गर्नुभएको थियो ।

समिक्षा कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति छ ।