• १३ साउन २०८२, मङ्गलबार

आलोकमय सूर्यको घुम्टीखोली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ साउन १३ गते ।  वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व झल्कने आलोकमय सूर्य नामक वृहत ग्रन्थ प्रकाशनमा आएको छ । एक कार्यक्रमबिच ग्रन्थकोे घुम्टीखोली राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको छ । कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजूले राष्ट्रपति रामचन्द पौडेल समक्ष उक्त ग्रन्थ हस्तान्तरण गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार तुलसी भट्टराई, साहित्यकार वियोगी बुढाथोकी, साझा प्रकाशनका अध्यक्ष तथा साहित्यकार शेखर गिरी,  लेखक मधु आचार्य, ग्रन्थनायक सूर्य लाकोजू, ग्रन्थका सम्पादक भीमप्रसाद काफ्ले, साहित्यकार ध्रुबकृष्ण ताम्राकार, गायक विजयराम कर्माचार्य, अइारमार्गका सहसम्पादक सविताकुमारी श्रेष्ठ लगायतको उपस्थितिमा प्रथम पुस्तकको घुम्टीखोली तथा पुस्तकको प्रथम प्रति हस्तान्तरण गरिएको थियो । 

सूर्यप्रसाद लाकोजू साहित्य, साहित्यिक पत्रकारिता, शिक्षा, समाजसेवा र संस्कृतिका आलोक हुन् । आलोकमय सूर्य नामक वृहत ग्रन्थ उहाँको अक्षरकर्मको प्रतिफल  हो । यसमा शब्दचित्रमा सूर्यप्रसाद लाकोजू स्मरणीय सूर्यप्रसाद लाकोजू, कविताको आलोकमा सूर्यप्रसाद लाकोजू, मुक्तकमा सजिएका सूर्य लाकोजू, गीतको लयमा रमाउँदै कवि सूर्यप्रसाद लाकोजू, हाइकुमा गुराँस फुलाउँदै हाइकुकार सूर्य, बालसाहित्यमा रमाएका सूर्यप्रसाद लाकोजू, सांस्कृतिक आलोक सूर्यप्रसाद लाकोजू, नियात्राभित्रका सूर्य, स्मृतिको आँखीझयालबाट सूर्यप्रसाद लाकोजू, कथाभित्रका सूर्यप्रसाद लाकोजू,कविहृदयमा सूर्यप्रसाद लाकोजू, पत्रकारिता÷साहित्यिक पत्रकारितामा सूर्यप्रसाद लाकोजू, सूर्यप्रसाद लाकोजूका केही साहित्यवार्ताहरू गरी जम्मा चौध खण्ड रहेका छन् । 

सम्पादक भीमप्रसाद काफ्लेले एक प्रसंगमा यस्तो महत्वपूर्ण पुस्तकको प्रथम पुस्तक राष्ट्र प्रमुखको हातबाट घुम्टीखोली उहाँलाई प्रथम प्रति हस्तान्तरण गरेपश्चात् स्वतः लोकमा अर्पण भएको जानकारी दिए । ग्रन्थ वरिष्ठ साहित्यकार भीमप्रसाद काफ्ले र साहित्यकार रामसुन्दर देउजाले सम्पादन गर्नुभएको हो । ग्रन्थलाई सूर्य ट्रान्सवल्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।