काठमाडौँ, साउन १३ गते । विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार र बिहीबार हुने छनोट खेलका लागि विदेशी खेलाडी काठमाडौँ आइसकेका छन् ।
छनोटका लागि व्यवस्थापन र प्राविधिकलगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल टेबलटेनिस सङ्घले जनाएको छ ।
प्रतियोगितामा आयोजक नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ । भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ, आठ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । प्रतियोगिताको विजेताले विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ ।