• १३ साउन २०८२, मङ्गलबार

रानीजमरा–कुलरिया सिँचाइ आयोजना : दोस्रो चरणको काम सम्पन्न

blog

एकिन्द्र तिमिल्सेना 

टीकापुर, साउन १३ गते । राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो । अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । 

पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ । आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएको छ । लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर हुने छ ।

सिँचाइ आयोजना उद्घाटन आज

रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली मङ्गलबार बिहान आयोजनाको मुहान लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानी कर्णालीमा पुगेर अवलोकन गर्नुहुने र त्यसपछि करिब १० किलोमिटर टाढा रहेको कार्यक्रम स्थल जानकी गाउँपालिका वडा नम्बर ९, कटासेस्थित विद्युत्गृहमा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आयोजनाका काम

आयोजनाबाट कर्णाली नदीमा इन्टेक, बालुवा छान्ने सिडलिङ बेसिन, ७४.३७ किलोमिटर नहर, १०८ वटा पानी बाँडफाँट गर्ने रेगुलेटर, ७५ वटा पानी वितरण गर्ने संरचना, ३८१ वटा सानाठुला पुल, २४५ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति, कर्णाली नदीमा ८० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको छ हजार ४५१ हेक्टर जमिन नदी कटानबाट सुरक्षित गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर नवीन पौड्यालले जानकारी दिनुभयो । यस्तै आयोजनाले कृषि कार्यक्रमतर्फ कृषकको क्षमता विकास, कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र पशुपालनमा ठुलो परिवर्तन गरेको छ । 

विद्युत् उत्पादन

लम्कीचुहा नगरपालिका–३, चिसापानी कर्णालीमा बनेको इन्टेकबाट करिब १० किलोमिटर टाढा जानकी गाउँपालिका–९, कटाँसेमा विद्युत् उत्पादन गृह बनेको छ । नहरमा आएको एक सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी बालुवा छानेर कर्णालीमै फर्किन्छ भने ८० क्युमेक्स पानी सात मिटर अग्लो हेड (उचाइ) बाट खसालेर प्रतिटर्बाइन एक हजार ६३६ किलोवाट क्षमताका तीन वटा टर्बाइनको सहायताले ४.७१ मेगावाट विद्युत् उत्पादन भएको छ । यहाँ उत्पादित विद्युत् ३३ केभी लाइनमार्फत साढे छ किलोमिटर टाढाको लम्की स्टेसनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

अझै समस्या बाँकी 

नदी नियन्त्रणका लागि कर्णाली किनारमा तारजालीमा ढुङ्गा भरेर बनाएको तटबन्ध भत्कने क्रममा छ । रानी नहरको ५० प्रतिशतसहित २५ प्रतिशत  काम बाँकी छ । आयोजना निर्देशक पे्रमराज घिमिरे बाँकी काम नेपाल सरकारको लगानीमा सम्पन्न हुने बताउनुहुन्छ ।