• १३ साउन २०८२, मङ्गलबार

श्रमदानबाटै थलथले पार्क निर्माण

blog

धनकुटाको सहिदभुमि गाउँपालिकामा श्रमदान गरी निर्माण गरेको थलथले पार्क । तस्बिर: गोरखापत्र

कविराज घिमिरे 

हिले, साउन १२ गते । धनकुटाको थलथलेको युवाहरूले श्रमदान गरेरै सुन्दर पार्क निर्माण गरेका छन् । सहिदभुमि गाउँपालिका वडा नम्बर छ स्थित थलथले बजारमा पार्क निर्माण गरिएको हो ।

स्थानीय थलथले फुटबल क्लबले बजार माथि डाँडामा रहेको सार्वजनिक वरको रुखलाई आधारमा मानेर पार्क निर्माण गरिएको छ । सो स्थानमा पार्क निर्माण गर्न क्लबको सदस्य तथा स्थानीयले श्रमदान गरेको क्लबका अध्यक्ष प्रेम राईले जानकारी दिनुभयो । आवश्यक पर्ने अन्य सामाग्री खरिद गर्न भने विदेशमा रहेका स्थानीयबाट सहयोग सङ्कलन गरिएको राईको भनाइ छ । सङ्कलित करिब दुई लाख रुपैयाँ बाट बास काठ तथा अन्य आवश्यक सामाग्री खरिद गरिएको छ । पार्क निर्माण गर्न पालिका तथा वडा सँग पटक पटक सहयोग माग गर्दा समेत सहयोग नगरेको राईले जानकारी दिनुभयो । 

ठेक्का वा अन्य कुनै प्रक्रियाबाट निर्माण गर्दा दस लाख भन्दा बढी खर्च हुने अनुमान स्थानीयको छ । पार्कमा करिब दुई रोपनी क्षेत्रमा ढोल, धनुष, चिन्डो झ्याम्टाको स्तम्भ सहित विश्रमालय, चौतारी तथा काठबाट कलात्मक बस्न मिल्ने मुढा बनाइएको छ । त्यस्तै बजार देखिने गरी थलथले लेखिएको पाना आकारको बसेर फोटो र भिडियो खिच्न मिल्ने गरिएको स्टेसन समेत निर्माण गरिएको छ । करिब दुई महिना अघिबाट निर्माण सुरु गरिएको पार्कमा शौचालय सहित अझै धेरै संरचना निर्माण गर्न बाकी रहेको थलथले फुटबल क्लबले जनाएको छ ।