• १३ साउन २०८२, मङ्गलबार

नागपूजाको सांस्कृतिक महत्व

blog

विविधतायुक्त नेपाली समाज र संस्कृतिले हरेक रीतिरिवाज, चाडपर्व, धर्म, संस्कृति एवं परम्परालाई मात्र मान्यता दिएको छैन, मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपन्छीको पूजाअर्चनाको परम्परालाई समेत विशिष्ट महत्व दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्व रहिआएको छ, जसका कारण विश्वास, आस्था र भक्ति प्रकट गरिन्छ । विभिन्न चाडपर्वमा विविध पशुपन्छीको पूजा गर्ने क्रममा नागपञ्चमी यस्तो दिन हो, जसमा नाग (सर्प) को पूजा गरिन्छ । घर घरका ढोकामा नागको तस्बिर विधिपूर्वक पूजा गरेर टाँस्ने चलन छ । जसले गर्दा वर्षभरि घरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास रहिआएको छ । नाग अर्थात् सर्पको सम्बन्ध पानी तथा जमिनसँग जोडेर पनि हेर्न सकिन्छ । नाग रिसाए भने पानीको अभाव हुन्छ, जसले गर्दा पानीबिना जीव बाँच्न नसक्ने ठानेर हिन्दु धर्ममा नागलाई सर्पका राजा मानिन्छ । यस्तै नाग रिसाई घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने हुँदा घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ । समयमा नै वर्षा होस् र यस्तो समयमा बाढीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने प्रचलन रहिआएको छ । 

हिन्दुले नागलाई वैदिक देवता शिव र विष्णुका रूपमा परम्परादेखि पूज्ने गर्छन् । भगवान् शिवले नागको माला लगाउनुभएको छ भने विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढेर सुतेको अवस्थामा रहनुहुन्छ । विश्वको ऐतिहासिक सभ्यता सिन्धुघाँटी सभ्यतालाई हेर्ने हो भने त्यहाँ उत्खननबाट प्राप्त मुद्रामा एउटा पुजारीले नागको पूजा गरिरहेको चित्र पाइएको छ । यस्तै एउटा जन्तरमाथि चित्रमा नागलाई वेदमाथि देखाइएको छ, यसबाट पनि नागराजाको प्राचीनताबारे जान्न सकिन्छ । 

नागपञ्चमीको ज्यादै लामो प्राचीन तथा ऐतिहासिकता रहेको छ पौराणिक कालबाट नै काठमाडौँ उपत्यका पहिले एउटा ठुलो पोखरीका रूपमा थियो, जसमा नागहरू बस्नेलाई लोकप्रसिद्धि छ । उपत्यका जलमग्न भएको अवस्थामा उक्त दहको पानीलाई खड्गले काटेर मञ्जुश्रीले बाहिर पठाई बस्तीयोग्य बनाएको उल्लेख पाइन्छ । भगवान् कृष्णका दाजु बलराम र रामका भाई लक्ष्मण शेषनागका अवतार मानिन्छन् । कृष्णले बालक कालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ । नागपञ्चमीका प्राचीनतासंग विभिन्न कथा जोडिएका छन् । ग्रन्थ स्रोत अनुसार एक पटक एक जना किसानले खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेटायो र सबैलाई मारिदियो । जब ती बच्चाकी आमा आहारको खोजीबाट फर्कंदा आफ्ना सबै बच्चा मार्ने किसान र उसको परिवारप्रति आक्रोश पोख्दै किसानलाई लखेटेर मारिदिई । 

यद्यपि अझै पनि उसको रिस शान्त भएन, घरका अन्य सदस्यलाई पनि डसेर मारिदिई । उक्त किसानकी छोरी भने घरबाहिर रहेको अवस्थामा फणा उठाएर डस्न खोज्दा केटीले नागिनीसँग प्रार्थना गर्दै माफी मागी र बाँच्न पाऊँ भनी याचना गर्दै दुध पिलाउने अनुनय गरिन । उसले कचौरामा दुध ल्याएर नागिनीका अगाडि राखिदिई । संयोगवश त्यो दिन श्रावण शुक्लपञ्चमी परेको थियो । थकित अवस्थामा रहेकी नागिनी दुध पिई शान्त भई ती कन्यालाई जीवनदान दिई र केही वरदान माग्ने भए दिन्छु भनि माग्दा किसानकी छोरीले हतपत आफ्ना मरेका मातापिता र भाइलाई जीवनदान दिने वरदान मागी । त्यसपछि नागिनी वरदान दिएर अलप भई । यस कथाका आधारमा किसानका परिवारलाई मृत्युको मुखबाट बचाएको सम्झनास्वरूप नागपूजा गर्न थालिएको मान्यता पाइन्छ । 

यसै गरी नागपूजा तथा यसका विभिन्न पक्षसँग सम्बन्ध देखाउने अनेक पौराणिक स्रोत पनि छन् । जसमा नाग र यसको पूजाको महत्व दर्शाइएको पाइन्छ । विभिन्न पुराणमा नागपूजा गर्नाले सुख समृद्धि पाउनुका साथै उनीहरूलाई दुधपान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट बाँच्न सकिने उल्लेख गरिएको छ । वराह पुराणलाई उद्धृत गर्दै उल्लेख गरिए अनुसार ब्रह्माका १० मानसपुत्रमध्येका जेठा छोराको नाम मरीचिका कश्यप थियो, उनले दक्षकी छोरी कदू र विनतास“ग विवाह गरे । त्यसपछि कदुको गर्भबाट अनन्त, वासुकि, पद्य, महापद्य, कम्बल, कर्कोटक, शङ्ख आदि नाग जातिका छोराहरू जन्मे । भूमिमा विशेष देवताका रूपमा नागलाई मान्दै भूमिमा गाढेर राखिएको धनमाथि बसेर सोको रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा मात्र उक्त धन प्राप्त गर्ने लोकविश्वास रहिआएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यसै गरी पानी बर्साउनमा, मेघ र अग्निबाट रक्षा दिएर शान्ति ल्याउन नागको विशेष भूमिका रहने गर्छ । पञ्चतन्त्रको एक कथा अनुसार एउटा ब्राह्मणबाट प्रसन्न नागले प्रत्येक दिन एउटा स्वर्ण मुद्रा दिन थाले, ब्राह्मण अन्य काममा व्यस्त भई उनले छोरालाई सो मुद्रा लिन पठाए । सर्प बस्ने दुलामा असङ्ख्य स्वर्ण मुद्रा भएको लोभमा छोराले सर्पलाई मारी ती सबै मुद्रा एकै पटक पाउन सर्पमाथि प्रहार गर्दा सर्पको डसाइबाट ब्राह्मण पुत्रको मृत्यु भयो । पछि लोभी छोराको बाबु ब्राह्मणलाई पनि सो नागले स्वर्ण मुद्रा दिन अस्वीकार गरे यसबाट पनि नागक्षेत्र देवता भएको प्रस्ट हुन्छ । विभिन्न १२ वटा नाग अनन्त, वासुकि, पद्य, शेष, कुलिर, कर्कोटक, अश्वतर, तक्षक, पिङ्गल, शङ्ख, गोमन र महापद्य छन् । लोकमान्यतामा नागहरूको सम्बन्ध जल र जलाशयमा रहेको पाइन्छ । हरेक ताल, पोखरी तथा जलाशयमा अलग अलग नाग देवता हुन्छन् । 

नागकै सम्बन्धमा विभिन्न कथा पाइन्छन् । एक कथा नाग र गरुडको सङ्घर्षसंग सम्बन्धित छ भने अर्को जन्मेजयको नागयज्ञसंग जोडिएको छ । जसमा सनातन धर्म र संस्कृतिमा सबैको अस्तित्व सम्मानजनक भएकाले सर्पलाई मारेर बदला लिनु विपरीत कार्य हो भनिएको छ । सृष्टिका पालनकर्ता विष्णुलाई ‘शान्ताकार भूजगशयन’ भन्दै सर्पहरूको बिछ्यौना बनाई सुतेका शान्तिका मूर्ति बनाइएको पाइन्छ । श्रीकृष्णलाई जन्मनेबित्तिकै वासुदेवले यमुना तराउ“दा ठुलो पानी परिरहेको हुँदा नागहरूले छाता बनी पानीबाट रक्षा गरेपछि श्रीकृष्णले नाग (सर्प) प्रति भक्ति प्रकट गरेको कुरा पनि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यस्तै भगवान् शङ्करले सदा सर्वदा सर्पको माला नै लगाई सर्पप्रति सम्मान गरेको प्रस्ट हुन्छ । त्यस्तै गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेको जस्ता अनेकौँ प्रसङ्ग पनि पाइन्छन् । विश्वमा सबैभन्दा मूल्यवान् रहेको मणि शिरमा धारण गर्ने अक्षय खजना पनि नागसँगै हुन्छ । वेद, पुराण, उपनिषदहरूमा नाग गरिमाको चर्चा पाइनुका साथै शेषनागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग पनि प्रसिद्ध छ । यसरी सर्वत्र चर्चा भएका नागको पौराणिक, धार्मिक, सांस्कृतिक महत्व रहेको छ ।

ज्योतिषशास्त्रीय मान्यता अनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन काल सर्पदोष निवारणसम्बन्धी पूजाआजा गर्ने चलन छ । यस दिन खेतमा जोतखन गर्दा सर्पहरू मर्छन् भन्ने मान्यताले गर्दा जमिन खन्ने जोत्ने कार्य गर्नुहुँदैन भन्ने जनविश्वास रहिआएको छ । यसदिन विभिन्न रङमा नागका चित्र बनाई घरका ढोकामाथि वा प्रवेशद्वारमा गाईको गोवरका साथ टांस्ने गरिन्छ । त्यस्तै चामलको पिठोका नाग बनाएर खानेपानीका मुहान लगायतका ठाउँमा नागपूजा गर्ने प्रचलन गाउँघरतिर देख्न सकिन्छ । काठमाडौँ उपत्यकामा नागपोखरी, भक्तपुरमा शिद्धपोखरी जस्ता ठुलठुला जलाशयमा नागपञ्चमीका दिन घुइँचो लाग्छ, जहाँ नागको भव्य पूजा गर्ने चलन छ । तसर्थ पौराणिक, ऐतिहासिक, धार्मिक प्रसङ्गका साथसाथै कृषि र वर्षासंग पनि नाग (सर्प) को समन्वय भएकाले यस्ता पर्वमा प्रकृतिमा रहेका जीवहरूको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्विकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो । यसले प्रकृति र संस्कृतिबिच समन्वय स्थापित गरेको छ ।