विनय कर्ण
सप्तरी, साउन १३ गते। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिप बोरिङ जस्ता सिँचाइ योजनाका लागि ‘लालपुर्जा’ अनिवार्य गर्ने सरकारी प्रावधान तत्काल हटाउन माग गर्नुभएको छ।
यस्तो प्रावधानले गर्दा साना तथा वास्तविक किसान योजना पहुँच बाहिर पर्ने सक्ने भन्दै उहाँले हटाउन माग गर्नुभएको हो।
डा. राउतले कृषि मन्त्रालयका मन्त्री, सचिव, मातहत कार्यालय प्रमुख तथा कृषि ज्ञान केन्द्रका प्रमुखलाई समाजिक सञ्जालमार्फत् सम्बोधन गर्दै “लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?” प्रश्न गर्नुभएको छ।
मधेसमा अधिकांश किसानसँग नागरिकताको प्रतिलिपि दिन पनि अनिच्छा देखाउने अवस्था रहेको उल्लेख गर्दै ४०–४० बिघाको लालपुर्जा सङ्कलन गर्नु असम्भव रहेको उल्लेख गर्नुभएको छ। “फेरि, एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ। त्यसो गर्दा २००–४०० जना किसानसँग समन्वय गरेर लालपुर्जा जम्मा गर्नुपर्ने अवस्था आउँछ, जुन सम्भव छैन्”, राउतको धारणा छ।
यस्तो झन्झटिलो प्रावधानकै कारण डिप बोरिङजस्ता योजना कार्यान्वयनमै जान नसकेको स्थिति देखिएको स्पष्ट पार्दै “ठुला किसान र जमिन्दारले त डिप बोरिङ सहजै लग्न सक्छन्, तर साना किसान यसबाट बञ्चित भइरहेका छन्,” उहाँको गुनासो छ।
डा. राउतले कृषि क्षेत्रको विकासका लागि वास्तविक किसानमै केन्द्रित नीति आवश्यक रहेको भन्दै लालपुर्जासम्बन्धी अनावश्यक प्रावधान खारेज गर्न सरकारसँग माग गर्नु भएको छ।