शालिग्राम नेपाल
चितवन, वैशाख १ गते । भरतपुर महानगरपालिकाका मुख्य दुई सडकमा ३३ केभी विद्युत्का तार भूमिगत गर्ने काम तीव्र गतिमा भएको छ। भरतपुरको भोजाडमा रहेको सबस्टेसनबाट बाइपास सडक हुँदै पूर्व–पश्चिम राजमार्गको गोन्द्राङसम्मको साढे चार किलोमिटर क्षेत्रमा तार बिछ्याउनका लागि पाइप राखिसकिएको छ। नारायणगढको पुलचोकदेखि बसपार्कसम्म सडकको दायाँबायाँ आँपटारीदेखि बाइपास सडकको दायाँबायाँ र बसपार्कदेखि गोन्द्राङसम्म एकातर्फ मात्र गरेर २३ किलोमिटर क्षेत्रमा तारलाई भूमिगत गरिँदै छ।
पहिलो चरणमा ३३ केभी लाइनको तार भूमिगत गर्न पाइप बिछ्याउने काम गरिएको हो। ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने तयारी रहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भरतपुर शाखाका इलेक्ट्रिकल सुपरभाइजर सन्दीपविक्रम शाहले जानकारी दिनुभयो।
माघको १२ गतेबाट पाइप बिछ्याउन सुरु गरिएको हो। उहाँले भन्नुभयो, “पाइप बिछ्याएपछि चेम्बरलगायतका संरचना बनाएर तारलाई पाइपमा घुसाइन्छ। भरतपुरको सबस्टेसनबाट मुख्य राजमार्गको गोन्द्राङसम्म सकिएको छ। यो ठूलो सफलता हो। बिजुलीका तार भूमिगत गर्ने बेलामा एउटा अप्टिकल फाइबर पनि हाल्छौँ। इन्टरनेटका तार पनि अहिल्यै भूमिगत गर्ने विषयमा भने विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच कुनै समन्वय भएको छैन।”
तार भूमिगत गरेपछि बाहिरी समस्याले खासै असर नगर्ने भएकाले तारमा ‘फल्ट’ आउने सम्भावना एकदमै कम हुने उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “फल्ट भइहाले पनि हामीसँग एस्पियर हुन्छ, एस्पियर भनेको एउटा छुट्टै केबल हो। एउटा तारमा फल्ट आउँदा जगेडामा राखिएको केबलबाट तत्कालै बिजुली सप्लाई गर्न मिल्छ। बिग्रिएको तारलाई बिस्तारै मर्मत गर्न पनि सकियो।”
भूमिगत भएपछि तारलाई चट्याङले असर गर्दैन। जसका कारण हावाहुरी र चट्याङ पर्नेबित्तिकै लाइन जाने समस्या पनि हट्नेछ। पोखरा र भरतपुरमा एकै पटक यो काम भएको हो। यसको लागत दुई अर्ब ६० करोड रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो। एक वर्षअगाडि ठेक्का सम्झौता भएको थियो। दुई वर्षमा काम सम्पन्न गर्नुपर्ने भए पनि
सामग्री आउन समस्या भएपछि काम ढिलो सुरु भएको थियो।
यहाँ ३३ केभीको तार भूमिगत सम्पन्न भएपछि सर्भिस पोलमा जोडिनेछ। त्यही पोलबाट ग्राहकले विद्युत् तार जोड्न सक्नेछन्। मुख्य सडकमा तारलाई भूमिगत गरेपछि सहरको सौन्दर्य वृद्धि हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “स्मार्ट सिटीअन्तर्गत महानगरलाई विभिन्न विकासका पूर्वाधारले जोडिनेछ। अहिले स्मार्ट लाइट बल्न थालेका छन्। यो कार्य अन्तिम चरणमा पुगेको छ। अब भूमिगत तार भएपछि मूल सडकमा विद्युतीय पोल देख्न पाइँदैन।” नारायणी नदीलाई व्यवस्थित पार्ने, भरतपुर विमानस्थललाई विस्तार गरेर रात्रिकालीन उडान गर्ने, सिटी हल निर्माण, क्रिकेट रङ्गशालालगायत धेरै काम निर्माणका क्रममा रहेको दाहालले जानकारी दिनुभयो।