• १९ असार २०८१, बुधबार

विकास गाउँ पुग्यो मान्छे सहर पसे

blog

बाबुराम शर्मा 

दोलखा, वैशाख १ गते । दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्। 

ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्। गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताउनुभयो। यो टोलमा उहाँ एक्लै हुनुहुन्छ। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुई/चार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।” 

ठूलोवन शेर्पा गाउँ वैतेश्वर गाउँपालिकाकै लेकमा पर्ने गाउँ हो। यहाँका स्थानीयको मुख्य पेसा नै आलु खेती हो। भूकम्पअघि गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालयलगायतका समस्या थियो, गाउँभरि मान्छे थिए। उहाँले दुखेसो पोख्नुभयो, “अहिले गाउँका घर आँगनमै सडक पुगेको छ, खानेपानी, विद्युत् तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निर्माण भइरहेका छन् तर गाउँमा बस्ने मान्छे छैनन्। यहाँ अहिले विकासको भन्दा पनि गाउँमा बसोबास गर्ने छिमेकीको आवश्यक रहेको छ।” 

केही वर्षअघि ठूलोवनका शेर्पा गाउँमा सयको हाराहारी जनसङ्ख्या रहेको थियो तर अहिले गाउँमा कर्म शेर्पा, पासाङ शेर्पा, लोमु शेर्पा, मैली शेर्पा, तेम्बा शेर्पा, दानिमा शेर्पा, दाक्षकी शेर्पालगायत दर्जनको हाराहारीमा मात्रै गाउँमा बसोबास गर्छन्। गाउँमा थोरै मान्छेको मात्रै बसोबास भए पनि गाउँवरपरका जग्गा भने हरियाली छन्। स्थानीयले बारीभरि आलु खेती गरेका छन्। युवा र नयाँ पुस्ताले गाउँ छोडेर हिँडे पनि आफूहरूले गाउँ छाड्न नसकेको लोमु शेर्पाले बताउनुभयो। 

यहाँका स्थानीय मिलेर करिब दुई सय रोपनीमा आलु खेती गर्दै आएका छन्। आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले घरखर्च चलाउन आलु बिक्री गरेर नै पुगेको स्थानीय तेम्बा शेर्पाले बताउनुभयो। सिजनमा यहाँ एक किसानले ५० हजारदेखि चार लाख रुपियाँसम्मको आलु उत्पादन गर्दै आएका छन्। गाउँपालिकाको सहयोगमा सडक विस्तार भएसँगै काठमाडौँदेखि आलु लिन गाउँमै ठेकेदार गाडी लिएर आउने गरेको स्थानीय कर्म शेर्पाले बताउनुभयो। 

पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघरमा मानिसको सङ्ख्या घट्दै गएको छ। कतिपय गाउँमा बनेका घरमा ताल्चा लगाएको मात्रै भेटिन्छ। नयाँ पुस्ताले पुरानो थातथलो छाडेर सहर पस्दा गाउँ सुनसान बन्दै गएको गौरीशङ्कर गाउँपालिका–९ का स्थानीय लाक्पा थुन्डु शेर्पाले बताउनुभयो ।