• १२ मंसिर २०८१, बुधबार

जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै

blog

जलविद्युत आयोजना निर्माण हुने क्रम बढेसँगै बसाइँसरेर आउने मानिस उल्लेख्य वृद्धि । तस्बिर : रासस

गलेश्वर, चैत ३० गते । वि.सं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने  नारच्याङ गाउँ । वि.सं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत आयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ ।

जलविद्युत आयोजना निर्माण हुने क्रम बढेसँगै यहाँ बसाइसरेर आउने मानिस उल्लेख्य रूपमा वृद्धि भएको छ । तीन दशक अघिसम्म ७०/७५ घरधुरी रहेकामा अहिले पाँच सयभन्दा बढी घरधुरीको बसोबास छ । यस वर्ष मात्रै करिब ४० भन्दा बढी व्यक्ति अरू गाउँबाट बसाइँ सराइ गरी यहाँ आएका छन् । पछिल्लो समय नारच्याङ ‘हाइड्रो भिलेज’का नामले चर्चित छ । यहाँ केही निर्माणाधीन र केही निर्माण सम्पन्न भएका चार सय २१ मेगावाटका नौ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यी आयोजनामा काम गर्न उत्तरी म्याग्दीका विभिन्न गाउँबाट बसाइँ सरेर अहिले नारच्याङ् आउनेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । उहाँका अनुसार जलविद्युत आयोजना निर्माणका कारण यहाँका युवाले गाउँमै रोजगार पाएका छन् । रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटेको छ । आयोजनामा शेयर लगानी गर्ने र लगानीबापत पाउने बोनस रकमले यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ ।

उक्त गाउँपालिका–५ पाउद्वाराबाट बसाइसरेर नारच्याङमा आउनुभएका फत्तेबहादुर तिलिजाले गाउँमै रोजगारीका साथै सुरक्षित व्यवसायको सम्भावना देखेर यहाँ आएको बताउनुभयो । “पोखरा, काठमाडौंलगायत सहरमा जान सकिँदैन, यहाँ जलविद्युत आयोजना धमाधम निर्माण भइरहेका छन्, आफ्नै गाउँघरमा रोजगारी पाइने भएपछि परिवारको सुरक्षित भविष्यका लागि पाउद्धारबाट बसाइसरेर यहाँ आएका हौँ”, उहाँले भन्नुभयो ।

एक वर्षयता ४० भन्दा बढी बसाइँ सरेर यहाँ कामका लागि आएका छन् । काम र शिक्षाका लागि बसाइँ सर्ने क्रम नरोकिएकाले यहाँ आउनेको सङ्ख्या अझै बढ्ने वडा नं. ४ का वडासचिव अमृत नेपालीले जानकारी दिनुभयो । नारच्याङमा जलविद्युत निर्माण हुनाका साथै प्राविधिक शिक्षालय सञ्चालन भएपछि इन्जिनियरिङ पढ्न यहाँ आउनेहरूले पनि बसाइँ सर्ने गरेका उहाँको भनाइ थियो । रोजगारीसँगै गुणस्तरीय शिक्षा पाइने भएपछि बसाइसराइ गरेर आउनेको सङ्ख्या बढेको वडाध्यक्ष फगामीले बताउनुभयो ।

“यहाँबाट रोजगारी तथा शिक्षाका लागि काठमाडौं, पोखरालगायत सहरमा गएका व्यक्ति पनि धमाधम गाउँ फकिँदैछन्, बाहिरबाट बसाइसराइ गरेर आउनेहरू पनि थपिएका छन्” उहाँले भन्नुभयो “जलविद्युतले जग्गाको मूल्य राम्रै दिएको छ । पुराना घर हट्दै नयाँ पक्की घर बनेका छन् । स्थानीयवासीले गाउँमै रोजगारी पाउनाका साथै होटल सञ्चालन गरी व्यवसाय गरेर पर्यटक समेत भ्याएका छन् ।”

कालिगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा गरी दुई दर्जन बढी जलविद्युत आयोजना म्याग्दीमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये नौ वटा जलविद्युत आयोजना नारच्याङमा मात्रै सञ्चालित छन् । कालिगण्डकी नदीसँगै अन्नपूर्ण र निलगिरि हिमालबाट बग्ने मिस्त्री, घलेम्दी, निलगिरी, रेलेखोलालगायत खोलामा जलविद्युत आयोजना निर्माण हुन थालेपछि यहाँका बासिन्दाको जीवनस्तर फेरिएको वडासदस्य यामकुमारी सोतन्जाले बताउनुभयो ।

जलविद्युत आयोजना भित्रिएसँगै गाउँका युवा रोजगारीका लागि विदेश जानेक्रम कम हुँदै गएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष टङ्कबहादुर पुलने बताउनुभयो । “पहिले गाउँमा रोजगार नहुँदा ‘विदेश, विदेश भन्थे’, अहिले धमाधम जलविद्युत आयोजनाले युवालाई रोजगारी दिएकाले उनीहरूको दैनिक जीवन  सहज भएको छ,” उहाँले भन्नुभयो । अन्नपूर्ण र निलगिरी हिमालको काखमा रहेको नारच्याङ्का पाँच सय घरधुरीका प्रत्येक व्यक्ति गाउँमा नै रोजगार छन् ।

वि.सं २०४४ मा दुई मेगावाटको तातोपानी जलविद्युत आयोजना निर्माण भएपश्चात् ४० मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । एक सय सात मेगावाटको निलगिरी खोला–एक र निलगिरी खोला–दुईले कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । छ मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दी, ५२ मेगावाटको मध्यकालिगण्डकी, दुई सय मेगावाटको कालिगण्डकी गर्ज निर्माणाधीन अवस्थामा छन् । रासस