• १२ मंसिर २०८१, बुधबार

जिप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन

blog

बैतडी, चैत ३० गते । बैतडीमा मङ्गलबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् ।     

शव परीक्षणका लागि देउलेक स्वास्थ्य चौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् । गाडी धनीबाट क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।     

गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका छैनन् । मिलनले आफ्ना दाइ पदमलाई सहमतिका लागि पठाएका थिए । पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन् ।     

यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै शव राखेर आन्दोलन गरेका थिए । शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति दिने भने मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए ।     

मङ्गलबार राति खोडपे–बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मङ्गलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना लगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिई सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।     

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन् । जिपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए ।   

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । उकालो सडकमा एक्कासि जिप ब्याक भएर भीरमा खसेको थियो । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । –रासस