• १९ असार २०८१, बुधबार

फेवा महोत्सव सुरु

blog

पोखरा समाचारदाता 

पोखरा, चैत ३० गते । पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउनुभयो। उहाँले सङ्घीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताउनुभयो। यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोलिने उहाँको भनाइ थियो। पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा सरकारसँग गम्भीर रूपमा कुरा राखिएको र  नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।  होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताउनुभयो। कोरोनापछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

होटल सङ्घ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राख्नुभयो।  पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्र्राष्ट्रिय उडान सञ्चालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराउनुभयो। 

महोत्सवका संयोजक लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणले व्यवसायी पलायन हुँदा र हजारौँको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको बताउनुभयो।