• ६ जेठ २०८१, आइतबार

आरोहण बाटो बनाउन कठिन

blog

काठमाडौँ, चैत ३० गते । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ। 

बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ। 

यस पटक क्याम्प टुसम्मको बाटो बनाउन खटिएका १० जना अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले १० दिन पहिले नै क्याम्प टुसम्मको बाटो तयार पारिसकेका छन्। एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार बाटो बनाउने तयारी सुरु भएपछि आधार शिविरमा बौद्ध परम्पराअनुसार पूजापाठ, क्षमापूजा गर्ने, शक्ति माग्ने र लामापूजा गरेपछि हिमालमा कुल्चने गरिन्छ।

उहाँले भन्नुभयो, “आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो निकै अप्ठ्यारो छ। ल्होत्से र नुप्त्से हिमाल आरोहणको बाटो पनि त्यही भएकाले समय–समयमा बिग्रिरहन्छ। यो बाटो बनाउन प्रायः एक महिना लाग्ने गरेको छ।”

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट क्याम्प टुसम्म पटक–पटक आवातजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले आरोहण सिजन सकिने दिन (मे २९)सम्मै बाटो बनाउने टोली तयारी अवस्थामा रहने गरेका छन्। उहाँका अनुसार आइसफल डाक्टरले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायतका काम गरेर आरोहीका लागि बाटो तयार पार्ने गर्छन्। 

यस पटक आधार शिविरदेखि क्याम्प टुसम्मका विभिन्न स्थानमा १५ वटा भ¥याङ प्रयोग गरिएको छ। उक्त मार्गमा सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा प्रयोग भएको थियो। हिमनदी, हिउँ खाल्डा तथा चिरा धेरै रहेको क्याम्प टुसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले भ¥याङ कति राख्ने भन्ने सुरुमा यकिन नै हुँदैन। 

क्याम्प टुसम्म बाटो बनाएपछि आइसफल डाक्टरको टोली आधार शिविर फर्किने र आरोहण सकिएपछि टाँगिएका डोरी, भ¥याङलगायतका सामान निकालेर मात्रै करिब तीन महिनापछि फर्किन्छन्। आरोहणमा प्रयोग हुने डोरीको मोटाइ नौ मिलिमिटर र भ¥याङ बाँध्न प्रयोग हुने डोरी सात मिलिमिटरसम्मको हुन्छ। जुन विदेशबाट आयात हुँदै आएको छ। उहाँले आइसफल डाक्टरले पनि आफ्नो सुरक्षाको त्यत्तिकै ध्यान दिनुपर्ने भएकोले हेल्मेट, चस्मा, पन्जा, हावा नछिर्ने खालका कपडा र बुट अनिवार्य लगाउनुपर्ने बताउनुभयो।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार सगरमाथा आरोहणका लागि बाटो बनाउने काम क्याम्प टुसम्म नै बढी जोखिमपूर्ण मानिन्छ। उहाँले हिमनदी, हिउँ खाल्डा र चिरा धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले बढी जोखिम हुने बताउनुभयो। यस पटक क्याम्प टुभन्दा माथि बाटो बनाउने जिम्मा पाएको इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार क्याम्प टुदेखि क्याम्प थ्रीसम्म बाटो बनाउन पहिलो चरणमा ११ जना आइसफल डाक्टरको टोली खटिएको थियो। उहाँले भन्नुभयो, 

“क्याम्प टुबाट क्याम्प थ्रीसम्म तीन किलोमिटर जति दूरी छ। बाटो ज्यादै कठिन भएकोले यहाँ पनि पाइलै सार्न गाह्रो हुन्छ । क्याम्प थ्रीमाथि अल्टिच्युड सिकनेसको सम्भावना हुने भएकोले चुचुरोसम्म बाटो बनाउन समय लाग्ने गरेको छ।” उहाँका अनुसार क्याम्प फोरको बाटो बनाउँदा पनि जतिमाथि गयो, त्यति सास फेर्न कठिन हुने र अक्सिजनको अभाव सुरु हुन थाल्छ। सबैभन्दा गाह्रो चौथो क्याम्पदेखि माथि बाल्कोनी र हिलारी स्टेप भन्ने ठाउँमा हुने गरेको छ।   

तीन जना बेपत्ता 

वसन्तयामको सगरमाथा आरोहणका लागि बाटो बनाउन आवश्यक सामग्री बोकेर गएका तीन जना भरिया हिमपहिरोमा परेर बेपत्ता हुनुभएको छ । पहिलो शिविर (क्याम्प एक)भन्दा मुनि पाँच हजार सात सय मिटरको उचाइस्थित दाम (खुम्बु आइसफल)मा बुधबार बिहान गएको हिमपहिरोमा परेर उहाँहरू बेपत्ता हुनुभएको हो। बेपत्ता हुनेमा खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, छेसोका ३२ वर्षीय तेम्बातेन्जी शेर्पा, २२ वर्षीय लाक्पारिता शेर्पा र ४५ वर्षीय दाछिरी शेर्पा हुनुहुन्छ। 

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि दोस्रो शिविर (क्याम्प टु)भन्दा माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा पाएको इमाजिन ट्रेक नेपालबाट उहाँहरू त्यसतर्फ जानुभएको थियो। विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार बेपत्ताको उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर परिचालन 

गरिए पनि हिमपहिरोमा निकै तल पुरिएकाले बुधबार अबेरसम्म उद्धार हुन सकेन।हिमपहिरोमा बेपत्ता भएपछि बाटो पहिल्याउन समय लाग्ने 

भएको छ। उनीहरूको सगरमाथा इन्स्योरेन्समार्फत १५ लाख रुपियाँको बिमा गरिएको छ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।