• १२ पुस २०८१, शुक्रबार

माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने

blog

हरवा–चरवा मञ्चको बुधबार आयोजित पत्रकार सम्मेलन । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत २९ गते । राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे सङ्घीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ । 

जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । माग पूरा नभए चरणबद्ध पैदल यात्रा गर्दै तीन चरणमा आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । 

पहिलो चरणमा पालिकासम्म, दोस्रो चरणमा प्रदेशको राजधानी र तेस्रो चरणमा जनकपुरधामदेखि काठमाडौंसम्म पैदलयात्रा गरी आन्दोलन गर्ने चेतावनी उहाँले दिनुभयो । आगामी दिनमा मञ्चले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने, आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवा–चरवा सवाल सम्बोधनका लागि सुझाव पेस गर्ने मञ्चले जनाएको छ ।

मधेश प्रदेशको आठ जिल्लाका २४ वटा पालिकामा एकै दिन आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस गर्ने र स्थानीयस्तरमा समीक्षा तथा सन्देश प्रवाह गर्नेलगायतको कार्यक्रम गर्ने अध्यक्ष मण्डलले बताउनुभयो ।   

“मुक्त हरवा–चरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मूल नाराका साथ मधेश प्रदेशका विभिन्न पालिकाका हरवा–चरवाहरु मंगलबार राजधानी जनकपुरधाम आइपुगेका थिए । चैत २५ गतेदेखि २८ गतेसम्म पुनः स्थापनाका लागि हरवा–चरवा अधिकार यात्राको अन्तिम दिन मधेशको राजधानी जनकपुरधाममा आएर समापन भएको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाललाई गत साउन २ गते हरवा–चरवा मुक्त घोषणा गर्दै ऋण मिनाहा गरेको थियो । मुक्त घोषणाको नौ महिना पुग्दा पनि सरकारले पुनः स्थापनाको काम सुरु नगरेर आफूहरूको बिचल्ली गराएको भनाइ हरवा–चरवा अगुवाहरूको छ ।