• १२ मंसिर २०८१, बुधबार

पुर्ख्यौली गीत र नृत्यले पाहुनाको स्वागत

blog

गाउँमा आएका पाहुनाको स्वागतका लागि पुर्ख्यौली नाच देखाउँदै घराम्दीका स्थानीयहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २९ गते । 
गाउँमा आएका पाहुनाको स्वागत गर्ने प्रचलन आ–आफ्नो ठाउँअनुसार फरक फरक हुन्छ । कतिपय गाउँमा पाहुनाको स्वागत गर्ने प्रचलन नै छैन । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान घराम्दी गाउँका स्थानीयहरूले भने पाहुनाको स्वागत गर्न राम्रो प्रचलन बसालेका छन् । मगर समुदाय बसोबास गर्ने घराम्दीमा पाहुनाको स्वागतका लागि पुर्ख्यौली नाच देखाउने राम्रो परम्परा छ ।

कालिगण्डकी कोरिडोरको तिप्ल्याङ पुलदेखि सवारी साधनको प्रयोग गरेर एक घण्टामा पुग्न सकिने पहाडको खोचमा अवस्थित घराम्दी गाउँमा माटो ढुङ्गाले बनेका पुराना मौलिक घरहरू छन् । ढुङ्गाले चिटिक्क पारेर छाना छाइएका गुचुमुच्च परेका घरहरूले गाउँको सुन्दरता थपेको छ । यहाँ मगर समुदायको कला संस्कृति र रहनसहन जीवित छ । पाका पुस्ताले युवा पुस्तालाई संस्कृति सिकाएका छन् । 


मगर समुदायको बसोबास रहेको यस गाउँमा आउने पर्यटक र पाहुनाको स्वागत र सत्कारका लागि मौलिक संस्कृति झल्किने पुख्र्यौली नृत्य देखाएर स्वागत गर्ने प्रचलन रहेको वडाध्यक्ष मइलन पुर्जाले बताउनुभयो । उहाँका अनुसार गाउँमा रहेका युवा र बुढापाका एक आपसमा मिलेर पुर्ख्यौली नृत्यबाट पाहुनाको स्वागत गर्ने गरिन्छ ।

मगर भेषभूषामा सजिएर मारुनी र सोरठी गीत गाउँदै नाच्ने गरिन्छ । पुरुषहरु महिलाको पहिरन लगाएर नाच्ने गर्दछन् । पुर्ख्यौली नाच हेरेर पाहुनाहरुले खुसी र आनन्द महशुस गर्दछन् । सोमबार गाउँमा आयोजना गरिएको अन्नपूर्ण पालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा आएका पाहुनाको स्वागतका लागि स्थानीयहरुले पुर्ख्यौली नाच देखाए ।

लामो भाका र स्वर निकालेर गाइने गीतमा पुरुषहरुले भाङ्ग्रा कछाड, टोपीको पहिरनमा मादल भिररेर बजाउँदै र मादलेसँगै जोडी भएर महिलाको पहिरनमा पुरुषहरु नाच्ने गर्दछन् । पुर्ख्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको पहिरनमा नाच्नेलाई मारुनी भनिन्छ । जिल्लाका अधिकांश गाउँहरुमा मगर समुदायले पुर्ख्यौली नाच देखाएर पाहुनाको स्वागत गर्ने प्रचलन बसालेका छन् ।