• ७ असार २०८२, शनिबार

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेनः शिक्षामन्त्री पन्त

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

ललितपुर, असार ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अब योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको बताउनुभयो । उहाँले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गर्नुभयो । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री पन्तले भन्नुभयो, ‘‘विश्व योग दिवसले के देखाउँछ भने योग अब खाली वैदिक संस्कृतिको, वैदिक समुदायको मात्रै विषय रहेन । अब योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको छ । योगले मानिसलाई, ध्यानले मानिसलाई आफूभित्र हेर्नका लागि, आफ्नो मनस्थिति छाम्न, आफ्नो चिन्तनको लागि व्यतित गर्दछ । ध्यान र योगले मन र चित्त शुद्ध हुन्छ । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई हामीले हाम्रो देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा बौद्धिक सम्पदाको रूपमा अघि बढाउनुपर्छ ।’’

नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको बताउनुभयो । आज शान्तिको बढी खाँचो रहेको र पूर्खाहरूले पृथ्वीमा मात्रै नभई अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गर्नुभयो ।