अमरराज नहर्की
तनहुँ, असार ७ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर घुम्न आउने पर्यटकको सहजकताको लागि ‘बन्दीपुर रिङरोड सडक कालोपत्र गरेको छ । सङ्घ सरकार र सडक बोर्डको सहयोगमा कालोपत्र गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुरको मुख्य बजार क्षेत्रमा ढुङ्गा बिच्छाइएको भए पनि रिङरोडमा भने कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि पर्यटक, स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानीका लागि सहज भएको छ ।
पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्र निर्माणलाई प्राथमिकतामा राखिएको र सोही अनुसार कालोपत्र गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । सङ्घ सरकारको एक करोड १४ लाख र सडक बोर्डको ४० लाखमा जीर्ण बनेको रिङरोड सडक कालोपत्र गरिएको अध्यक्ष थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा दुई किलो मिटर कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष थापाका अनुसार यस अघि विभिन्न ठाउँका गरी करीव २० किलोमिटर सडक कालोपत्रे गरिएको छ । अध्यक्ष थापाले भन्नुभयो, “वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।” गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै बन्दीपुर गाउँपालिकाको रूप फेरिन थालेको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गर्ने काम तीव्र रूपमा भइरहेकाले हिलाम्मे र धुलाम्मे हुने गाउँपालिकाका सबै वडामा हाल धमाधम सडक कालोपत्रे र कैयौँ मिटर नाली निर्माण कार्य भइरहेको छ ।
निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सडक कालोपत्रे गर्ने र नाला पक्की गर्ने काम धमाधम भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ । अध्यक्ष थापाले भन्नुभयो, “जनताको चाहना, आवश्यकताका आधारमा मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ ।”
अध्यक्ष थापाले बन्दीपुर बजारमा केन्द्रित रहेको पर्यटनलाई गाउँ–गाउँसम्म विस्तार गर्न सडक स्तरोन्नती तथा कालोपत्रेलाई प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेको गाउँपालिकाले जनाएको छ । प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार सबै वडामा कालोपत्रेले छोएको छ । २, ४ र ५ वडा कार्यालयसम्म आगामी वर्षसम्म कालोपत्र पुर्याउने कार्य अघि बढेको छ ।