• ७ असार २०८२, शनिबार

नगरबसको प्रदूषण जाँच

blog

लेखनाथ समाचारदाता

लेखनाथ, असार ७ गते । पोखराभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार प्रदूषण जाँच गरिएको छ । महानगरभित्र चल्ने नगरबसको प्रदूषणले सौन्दर्यमा आँच आएको र धुवाँको मुस्लोले हिँड्नै कठिन भएको सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीले महानगर कार्यालयनजिक न्युरोडमा २१ नगरबसको प्रदूषण जाँच गर्दा आधा फेल भए । जाँच गर्दा ११ वटा मात्र पास भएका छन् । 

१० नगरबसको अवस्था ठिक देखियो । यातायात व्यवस्था कार्यालय सवारी कास्की प्रमुख ढाकाप्रसाद शर्मा जाँचमा असफल भएका सवारीले मर्मतसम्भार गरी उचित अवस्था भएपछि मात्र चलाउन पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जाँच फेल भएका बसका चालकलाई मर्मतसम्भार गर्न भनेका छौँ । गाडी मर्मत गरी फेरि प्रदूषण जाँच गराएर पास भएपछि मात्र चलाउन पाउनुहुन्छ । त्यसअघि सवारी चलाउन मिल्दैन ।”

कार्यालयले अघिल्लो हप्ता १० वटा नगरबसको प्रदूषण जाँचेको थियो । तीमध्ये छ वटा जाँचमा असफल भएका थिए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा सार्वजनिक सवारीले धुवाँको मुस्लो फाल्ने गरेको र अनुगमन नभएको गुनासो आएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले प्रदूषण जाँच गर्न निर्देशन दिनुभएको थियो । शुक्रबार भएको सवारी जाँच अवलोकन गर्न मन्त्री केसी फिल्डमै पुग्नुभएको थियो । 

मन्त्री केसीले यातायात क्षेत्रका समस्या सुल्झाउन मन्त्रालयले योजनाबद्ध काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्षबाट प्रदेशबाटै सवारीचालक अनुमतिपत्र छापिने जानकारी दिनुभयो । त्यसका लागि सरकारले १० करोड विनियोजन गरेको छ । उहाँले भन्नुभयो, “पोखराको सुन्दरता र स्वच्छता कायम राख्न प्रदूषण जाँच गरिएको हो । सरकार यातायात क्षेत्रका समस्या सुल्झाउन र नागरिकलाई सहज सेवाको अनुभूति दिन दत्तचित्त छ ।”