• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्रीलाई भेट्नु अपराध होइन: नेता भट्ट

blog

कैलालीको गोदावरी (अत्तरिया) मा आयोजित नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रम।तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

अत्तरिया, चैत २८ गते। नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुनै अपराध नगरेको बताउनुभएको छ। नेकपा (एमाले) मिसन ग्रासरुट कार्यक्रम अन्र्तगत कैलालीको गोदावरी (अत्तरिया) मा आयोजित कार्यक्रममा मंगलबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई भेट्नासाथ माओवादी फर्किने भन्ने नहुने प्रष्ट पार्नुभएको हो।उहाँले सुखी नेपाल समृद्ध नेपाल बनाउने उद्देश्यले आफू एमालेमा लागेको प्रष्ट पार्नुभयो।

शनिबार प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टलाई भेट्न अत्तरियास्थित घर पुग्नु भएको थियो।नेता भट्टले भन्नुभयो, ‘‘हाम्रो ४० वर्षदेखिको सम्बन्ध छ।उहाँले म आउछु भन्नुभयो, आउनु पनि भयो।उहाँसँग भेट्नु अपराध होइन।एकअर्काको घरपरिवारको अवस्था बारे कुराकानी भयो ।’’ 

उहाँले पार्टी एकता, संगठन सृदृढीकरण, संगनात्मक अराजकता र अनुशासित पार्टी बनाउन मिसन ग्रासरुट अभियान चलाइएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कैलालीका चार पालिकामा मिसन ग्रासरुटको नेतृत्व गर्नुभएका एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले युवा पुस्तालाई सैद्धान्तिकरुपमा प्रशिक्षित गरेर पार्टी काममा लगाउनु पर्ने बताउनुभयो।पार्टी निकट सबै भातृ संगठनमा प्रतिस्पर्धा गर्न दिनुपर्ने भावना आम कार्यकर्ताको रहेको बताउनुभयो। उहाँले एमाले भित्रका अराजकता र आन्तरिक समस्या ग्रासरुट अभियानपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाका अगुवा कार्यकर्ताको सहभागिता थियो।सो कार्यक्रममा एमालेका प्रदेश सचिव धर्मराज पाठक, जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशी, जिल्ला सचिव डेजी पाण्डेलगायतले बोल्नु भएको थियो।