काठमाडौं, चैत २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारी रहेको बताउनुभएको छ ।
मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको नवौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारीमा छौँ, रिसर्च काउन्सिलले गरेका अनुसन्धानअनुसार राज्यको लागि नीति निर्माण गर्न सहयोग पुग्छ ।’ उहाँले कोभिड-१९ को समयमा परिषद्ले गरेको अनुसन्धानहरू प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सम्मेलनले स्वास्थ्य अनुसन्धानको फरक बाटो तय गर्न सहयोग गर्ने बताउनुभयो ।
। परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीकाअनुसार दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधिहरूले १५० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै १३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ ।
सम्मेलनको प्रमुख उद्देश्य नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरू, जनसंख्याविद्हरु तथा नीति निर्माणकर्ताहरुलाई संलग्न गराई तथ्यमा आधारित नीति निर्माण गर्न बहस चलाउने रहेको छ।
सम्मेलनमा प्रस्तुत भएका उत्कृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरू मध्येबाट एक/एक जनालाई अवार्ड प्रदान गरिनेछ।
साथै, अन्य विधाहरू स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरूलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगी सकेको एक जना अनुसन्धानकर्तालाई लाइफ टाइम एचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिनेछ।
साथै परिषद्मा वर्ष भरी उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट प्रफर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ।