• २४ वैशाख २०८१, सोमबार

ज्ञान महर्जनको 'प्याड म्यान' यात्रा

blog

काठमाडौं, वैशाख १३ गते । हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँ सन् २००७ देखि महिनावारी, यौन दुराचार, महिला हिंसाविरुद्ध सक्रिय रूपमा काम गर्दै आउनुभएको छ । सुरुवाती दिनमा उहाँलाई यो क्षेत्रमा जनचेतनामूलक अभियान चलाउन सहज भने थिएन । महिनावारी, महिला हिंसालगायतका विषयमा कुरा गर्दा आफ्नै नजिकका साथीहरू र आफन्तबाट टाढिनु परेको पीडा महर्जनलाई छ ।

साथीभाइ टाढिए पनि उहाँका परिवारको पूर्ण सहयोग थियो । त्यसैले उहाँले हार नमानी आफ्नो कामलाई निरन्तरता दिइरहनुभयो । 

उहाँ भन्नुहुन्छ, “यही विषयमा कुरा गर्‍यो भनेर धेरै साथीभाइ आफन्त टाढिए । बुबा आमाको भने पूर्ण साथ थियो । श्रीमतीलाई सुरुवाती चरणमा सम्झाउन गाह्रो भयो तर पछि उनले पनि बुझ्दै गएपछि सहयोग गर्न थालिन् ।” 

उहाँले नेपाली प्याड बनाएर नै महिलालाई वितरण गर्नुभयो । लामो सङ्घर्षको परिणाम यतिबेला उहाँ नेपालभित्र मात्रै नभएर विदेशमा पनि ‘नेपाली प्याड म्यान’का रूपमा चिनिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “मैले प्याड बनाएर वितरण गरे । महिला हिंसाविरुद्ध निरन्तर अभियान चलाए । जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने मौका मिल्यो ।” 

‘सुरुवाती चरणमा महिनावारी विषयमा कुरा गर्दा अप्ठ्यारो मान्नेहरू त्यतिबेला मसँग खुसी भए जब भारतमा ‘प्याड म्यान’ चलचित्र रिलिज भयो,’ उहाँ भन्नुहुन्छ, ‘‘सम्मान पनि पाउन थालेपछि मेरो कामको पनि तारिफ हुन थाल्यो ।’’ 

ज्ञान महर्जनदेखि प्याड म्यानसम्म 

ज्ञान महर्जनदेखि प्याड म्यानसम्मको यात्रा त्यति सजिलो थिएन । सानैदेखि आफ्नै घरपरिवारमा महिला हिंसा देख्दै आउनुभएका महर्जनले यस्तो किन हुन्छ होला भनेर जिज्ञासा राख्ने गरेको हामीलाई सुनाउनुभयो । उमेर बढ्दै जाँदा हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने लागेर उहाँले सन् २००७ देखि एक्स्पोज नेपाल नामक संस्थाबाट यौन दुराचारमा परेका दिदीबहिनीलाई महिला हिंसासम्बन्धी जनचेतना जगाउन थाल्नुभयो । 

सन् २०१४ मा जर्मनीबाट महिनावारीका विषयमा बोल्नुपर्छ भन्ने आवाज उठेपछि सन् २०१५ को अन्त्यतिर महिनावारी विषयमा काम गर्न सुरु गरेको उहाँले सुनाउनुभयो । 

उहाँले महिनावारीका विषयमा काम गर्दै जाँदा विभेदका विषयमा थाहा पाउने मौका मिलेको बताउनुभयो । 

महिनावारी  हुँदा महिलाहरूले रगतको व्यवस्थापन कसरी गर्छन् भन्ने विषयमा रुचि जागेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाले महिनावारीमा बग्ने रगतलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयमा थप बुझ्न मन लाग्यो । त्यसैले, महिलाले महिनावारीमा कस्तो खालको प्याड लगाउँछन् भन्ने बुझ्न थाले ।”   

पुराना कपडा च्यातेर प्याड  

सुरुवाती चरणमा दिदीबहिनीसँग महिनावारीको विषयमा जिज्ञासा राख्दा उहाँहरूले हाँसेरै टारिदिन्थे । कसैले तपाईँको चासोको विषय होइन भन्दै कुरा गर्न चाहेनन् । पछि उहाँले आफ्नै श्रीमती र महिला हिंसाविरुद्ध अभियानमा लागेमा महिलाहरूसँग सोध्दा थाहा पाउनुभयो, ‘धेरैले पुरानो सारी, पुरानो कपडा र तन्नाहरूलाई प्याडको रूपमा प्रयोग गर्ने गरेका रहेछन् ।’ 

केमिकल भएका प्याडको प्रयोग अत्यधिक 

नेपाली महिलाले महिनावारीको समयमा प्रयोग गर्ने प्याडमा अत्यधिक केमिकल हुने गरेको महर्जनको अध्ययनले देखाउँछ । महिनावारीका बेला सहजका लागि प्रयोग गरिने प्याडमा अत्यधिक केमिकल प्रयोग हुने र त्यसले उनीहरूको स्वास्थ्यमा नै असर पर्ने गरेको उहाँको भनाई छ । 

उहाँ भन्नुहुन्छ, “प्याड बनाउने क्रममा धेरै खोजीनिती गरेका थियौँ। बजारमा पाइने ‘युज एन्ड थ्रो प्याड’ करिब ९० प्रतिशत प्लास्टिक र प्लास्टिकजन्य पदार्थबाट बनेका छन्। जसले गर्दा वातावरण प्रदूषणसँगै प्रयोगकर्तालाई प्याडले घाउ बनाउनुका साथै इन्फेक्सन भएको थाहा पायौँ ।” 

अनि उहाँ केमिकलरहित प्याड निर्माणमा लाग्नुभयो । बजारमा पाइने प्याडको बीच भागको  निलो या हरियो घेरामा केमिकल र युरिन मिसिएको हुने हुनाले त्यसले मानव स्वास्थ्यमा असर पार्ने महर्जनको दाबी छ । त्यसका अलावा प्याडले धेरैलाई घाउ बनाउने, चिलाउने, पोल्नेजस्ता विभिन्न समस्या भोग्नुपरेको उहाँले अध्ययनबाट पत्ता लगाउनुभयो । 

कपडाको वातावरणमैत्री प्याड बनाउने योजना 

एकातिर पुराना कपडा च्यातेर प्याडको प्रयोग अनि अर्कोतर्फ धेरैले केमिकलसहितको प्याड प्रयोग गर्ने थाहा पाएपछि महर्जनले नेपालमा नै केमिकलरहित प्याड बनाउने विषयमा सोच्न थाल्नुभयो । त्यसका लागि आवश्यक अध्ययन गर्नतिर लाग्नुभयो । 

कटन कपडालाई मोडिफाई गरेर केमिकलरहित प्याड बनाउन सकिने निष्कर्षमा पुगेपछि उहाँले व्यवस्थित रूपमै प्याड बनाउने काम सुरु गर्नुभयो । उहाँका अनुसार मोडिफाई गरेर बनाएको कपडाको प्याड वातावरण मैत्री  हुनुका साथै धोएर राखे पनि लामो समयसम्म प्रयोग गर्न मिल्छ ।  

उहाँ भन्नुहुन्छ, “यो प्याड वातावरणमैत्री त छ नै, साथै धोएर घाममा सुकाएपछि पनि लामो समयसम्म प्रयोग गर्न मिल्छ ।’ उहाँको दाबी छ, यस्तो प्याडको मूल्य बजारमा पाइने अन्यभन्दा पनि सस्तो छ । 

सुरुमा महिलालाई बुझाउनै गाह्रो  

प्याड बनाए पनि सुरुवाती चरणमा नेपालमै बनेको वातावरणमैत्री प्याडका बारेमा प्रयोगकर्तालाई बुझाउनै गाह्रो भएको महर्जनको अनुभव छ । ‘कपडाको प्याड राम्रो हुन्छ भनेर बुझाउनै निकै समय लाग्यो,’ उहाँ भन्नुहुन्छ, ‘सुरुसुरुमा त महिनामा ४० वटा पनि बेच्न गाह्रो भयो ।’

निरन्तरको अभियानले अहिले भने सार्थकता पाउँदै गएको उहाँको बुझाइ छ । अहिले महिनामा दुई सय बट्टा प्याड बेच्ने गरेको उहाँले बताउनुभयो । आफूहरूले बनाएको प्याडको माग बढ्दै गए पनि कपडाको अभावले  माग जति उत्पादन गर्न नसकेको उहाँको गुनासो छ । 

कपडाबाट बनेका प्याड प्रयोग गर्न सजिलो हुनुका साथै सफा पनि उत्तिकै सजिलो हुने उहाँ बताउनुहुन्छ । “एउटा भाँडोमा पानी र नुन राखेर १० मिनेट भिजाउने र साबुनले धोएर घाममा सुकाउँदा रगतको दाग पनि नबस्ने र कीटाणुरहित हुन्छ ”  प्याड सफा गर्नेबारे महर्जनले बताउनुभयो ।

 ६० जनालाई रोजगारी 

महिनावारीका विषयमा सचेतना अभियान सुरु गरेर आफैँ प्याड बनाउन थालेका महर्जनले अहिले धेरैलाई रोजगारी पनि दिनुभएको छ । उहाँले ६० जनालाई महिलालाई रोजगार दिनुका साथै स्थानीय तहमा गएर प्याड बनाउने तामिल दिइरहनुभएको छ । अहिलेसम्म विभिन्न जिल्लाका ६ हजार महिलालाई प्याड बनाउने तालिम दिइसकेको उहाँको भनाइ छ। प्रस्तुत छ प्याड म्यान ज्ञान महर्जनसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद : 

 

भिडियो : मनोजरत्न शाही 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।