• ११ मंसिर २०८१, मङ्गलबार

भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः जात्रा सुरु

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

भक्तपुर, चैत २७ गते । भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः)  जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको भीड थियो । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरिएको थियो ।

पूजापछि भैरवको रथ तान्न सुरु गरिएको छ भने यस वर्ष छिट्टै रथ तानेर गःहिटी पुर्‍याउने बताइएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर यात्रा सुरु भएको छ ।

विगतका वर्षहरूमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो ।

यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी रहेको आयोजकले बताएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न पाइँदैन ।

आजको जात्रा सम्पन्न भएपछि चैत्र ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ ।

आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।