कोकिला ढकाल
इलाम, चैत २७ गते । शहीद रत्नकुमार वान्तवाको ४४ औँ स्मृति दिवस तथा ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज इलामको ठूलो टुँडिखेलस्थित रत्न चोकमा रहेको शहीद वान्तवाको स्मारकमा माल्यार्पण गर्दै श्रद्धान्जलि सभा सम्पन्न गरिएको छ ।
प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले शहीद रत्नकुमारले देखेको सपना पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । वान्तवाको स्मृति दिवसकै अवसरमा इलाममा आयोजित म्याराथन दौड आदर्श उच्च माविका प्रज्ज्वल नेम्वाङ प्रथम, मौसुफ राई दोस्रो र इलाम माविका सविन राई तेस्रो हुनुभएको थियो ।
उता देउमाई नगरपालिकाको चित्रेस्थित रत्नकुमार वान्तवाको जन्मघर र उहाँले साहदत्त प्राप्त गरेको इभाङमा रहेको स्मारकमा पनि माल्यार्पण गरिएको छ ।
वान्तवाको स्मृति दिवसकै अवसरमा नेपाल बुद्धिजीवी परिषद् इलाम नगर कमिटीले विचार गोष्ठी आयोजना सम्पन्न गरेको छ । सूर्योदय नगरपालिकास्थित नेकपा एमाले नगर कमिटीले साहित्यिक कार्यक्रम आयोजना गरेको छ । कम्युनिष्ट पार्टीहरूले शहीद वान्तवालाई आदर्श व्यक्तिका रूपमा लिने गरेका छन् ।
वि.सं.२००८ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरङ्कुश पञ्चायती शासकहरूले देश द्रोहको आरोपमा हत्या गरेका थिए । शहीद रत्नकुमारलाई नेपाल सरकारले ०७२ फागुन १९ गते शहीद घोषणा गरेको थियो ।