• १३ मंसिर २०८१, बिहिबार

आर्थिक समृद्धितर्फको कार्यभार सन्तोषजनक छैन: उपप्रम श्रेष्ठ

blog

प्रेस सेन्टर, नेपाल चितवन शाखाले चितवनको भरतपुरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, चैत २७ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको दिशातर्फ भएका कार्यभार सन्तोषजनक नभएको स्वीकार गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल, चितवन शाखाले भरतपुरमा सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सो कुरा स्वीकार गर्नुभएको हो । उहाँले सरकारको एक सय दिनमा जे जति कार्यभार पूरा हुनु पर्दथ्यो त्यो पनि हुन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले गठबन्धन सरकार बन्न समय लागेको मन्त्री मण्डलले पूर्णता पाउन नसक्दा सरकारको काम कारबाहीमा ढिलाइ भएको स्विकार्दै भन्नुभयो, “गठबन्धन सरकारको विषयमा तपाईंहरुलाई थाहै छ । सम्बन्धित पार्टीले नाम नदिँदा ढिलाइ भएको हो । अब केही दिनभित्र मन्त्री परिषद्ले पूर्णता पाउँछ ।” मन्त्री मण्डलले पूर्णता पाएपछि काममा ढिलाइ नहुने दाबी उहाँको थियो ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हाले यता यसको प्राथमिकता क्षेत्र किटान गरी आफूले काम कारबाहीलाई अगाडि बढाएको दाबी गर्दै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा, आन्तरिक र राष्ट्रिय एकता, तस्करी र कालोबजारी नियन्त्रण, महिला हिंसाविरुद्ध शून्य सहनशीलता, जनताको लागि प्रहरी र प्रशासन जस्ता कार्यक्रम लिएर आएको बताउनुभयो ।

भौतिक पूर्वाधार मन्त्री रहेको बेला चिनियाँ राजदूतसँग मुग्लिङ–पोखरा, नारायणगढ–बुटवल सडक खण्डको निरीक्षण गर्नको लागि निर्धारण गरिएको कार्यतालिका अनुसार आफू आएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँको साथमा भौतिक पूर्वाधार मन्त्रीसहितको उक्त मन्त्रालयको समूह, राजदूतसहित चिनियाँ निर्माण कम्पनी, सडक विभागको विभागीय टोली, नेपाली र चिनियाँ प्राविधिक सल्लाहकार टोली, एसियाली विकास बैङ्कका प्रतिनिधिसहित सडकको अनुगमनमा रहेको उहाँले जानकारी दिनुभयो । 

निरीक्षणको क्रममा देखिएको विषय उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले मुग्लिङ–पोखरा सडकको मुग्लिङतर्फको खण्डको काम सन्तोषजनक रहेको तर पोखरा तर्फको काममा जे जति प्रगति हुनु पर्दथ्यो, त्यो नभएको पाइएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मुग्लिङतर्फको काम तीव्र गतिमा छ । तर पनि समयमा सम्पन्न गर्न त्यति सहज छैन । पोखरा छेउको प्याकेज सन्तोषजनक छैन । काम छिटो गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ ।”

गृह एवम् उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारका मुख्य चार कार्यभार मध्य नेपालको राष्ट्रिय सार्वभौमिकताको रक्षा पहिलो रहेको जानकारी दिनुभयो । उहाँले राजनीतिक परिवर्तन माथि हुनसक्ने आक्रमण रोक्ने अर्को महत्त्वपूर्ण कार्यभार भएको बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियाको बाँकी काम सङ्क्रमणकालीन न्याय सम्पादनका विषयमा संशोधन बिल पेस गरिसकिएको पनि जानकारी दिनुभयो । त्यस्तै, सामाजिक आर्थिक रूपान्तरणको केन्द्रीय कार्यभारमध्येको चौथो महत्त्वपूर्ण काम भएको पनि बताउनुभयो ।