• १२ पुस २०८१, शुक्रबार

पानीघट्ट

blog

हामी कक्षा ८ का विद्यार्थी मिति २०७९ फागुन ८ गते सोमबारका दिन कालिका गाउँपालिका–२ को काभ्रे गाउँ गयौँ । हाम्रो पेसा, व्यवसाय र प्राविधिक शिक्षाका विषय शिक्षक कृष्ण अर्याल सरद्वारा पढाइएको एकाइ १५ मा रहेको पाठ–२ विकासबाट परम्परागत प्रविधि भन्ने शीर्षक अध्ययन गरेका थियौँ । त्यसमा हामीले आधुनिक युगको पिठो पिस्ने मिल र परम्परागत पानीघट्ट प्रत्यक्ष अवलोकन गर्ने गरी हामी त्यहाँ गएका थियौँ । हामीले त्यहाँ पानीबाट चल्ने घट्ट र विद्युत्बाट चल्ने मिल देख्यौँ । हामीले त्यसलाई प्रयोगात्मक अभ्यास गर्ने हिसाबले जाने सल्लाह गरेर गएका हौँ ।  

हामी विद्यालयबाट निस्केर हरियाली जङ्गलको बाटो हुँदै हिँडिरहेका थियौँ । त्यहाँ हामीले राष्ट्रिय फूल लालीगुराँग देख्यौँ र हामी पानीघट्ट पुग्न लाग्दा एक गुम्बा देख्यौँ । बुद्ध धर्मावलम्बीहरूको गुम्बा अवलोकान गरेर उकालो लाग्यौँ । केही बेर यात्रापछि पानीघट्ट पनि देख्यौँ । अहिले हिउँदमा त्यहाँ पानीको अभाव भएका कारण घट्ट बन्द थियो । बर्सातमा पानी ठूलो हुने हुनाले चल्ने त्यो घट्ट अहिले बन्द भएको पनि थाहा भयो । त्यो घट्टबारे हामीले स्थानीयसँग सोध्यौँ । पानीघट्टमा पिसेको पिठोबाट ढिँडो, रोटीजस्ता खानेकुरा तयार गर्दा मीठो हुने तर विद्युत्बाट चल्ने मिलको मिठो अलि कम मीठो हुने कुरा पनि थाहा भयो । मिलमा केही समय छिटो पिठो पिस्ने भए पनि पिठो धेरै तातो हुने भएकाले चाँडै बिग्रने रहेछ । 

पानीघट्टमा विस्तारै पिस्ने हुनाले केही बेर ढिलो भए पनि पिठो राम्रो हुने र स्वादिलो हुने कुरा थाहा भयो । वृद्धवृद्धाहरू पानीघट्टको पिठोमा बढी पौष्टिक हुने कुरा सुनाउँछन् । 

हामी त्यहाँ जनिकैको विद्युत्बाट चल्ने घट्ट हेरेर उकालो लाग्यौँ । पासाङ ल्हामु सडक निस्केर साथीहरूसँग पानीघट्टका बारेमा छलफल गर्दै हामी घुम्तीबजार आएर अर्को पनि विद्युत्बाट चल्ने घट्ट ह¥यौँ । त्यहाँका मिल सञ्चालकले कसरी मिलले काम गर्छ । कसरी खोल्ने र पिठो कसरी बन्छ यसबारे हामीलाई बताउनुभयो । विद्युत्ले मोटर घुमाउँछ र घट्ट घुम्ने हुन्छ भने पानी घट्टमा पानीको बहावले मदानीमा दबाब परेपछि घुम्छ त्यसले घट्ट घुम्ने रहेछ । काठबाट बनेको चराले घट्टको घुमाइसँगै ठक्कर दिने हुँदा हल्लेपछि माथि सोलीमा रहेको मकै विस्तारै घट्टमा खस्छ अनि मकै, कोदो, गहुँजस्ता अन्नहरू पिसिएर पिठो बनेर बाहिर निस्कने रहेछ । 

हामी त्यहाँबाट निस्केर जाँदा जाँदै  कालिका मोडल  स्कुल पनि देख्यौँ । त्यहाँ ससाना नानीबाबु अध्ययन गरिरहेका देखिन्थे । त्यहाँ वरिपरि विभिन्न भगवान्का मन्दिर थिए । हामी त्यहाँ उक्लँदा र ओर्लंदा सिँढी गन्दै अघि बढ्यौँ । मन्दिरको पछाडि १३१ र अगाडि १३४ वटा सिँढी रहेछन् । त्यहाँ हामीले फोटो पनि खिच्यौँ । त्यसपछि हामी हाम्रो विद्यालयतर्फ लाग्यौँ । á