• २८ वैशाख २०८१, शुक्रबार

समयलाई चिनौँ

blog

भाइबहिनी हो ! तिमीहरूले समयलाई कत्तिको महत्त्व दिन्छौ ? समयको व्यवस्थापन कसरी गर्छौ ? तिमीहरूले कतै समयलाई बेवास्ता गरिरहेको त छैनौँ ? समय मानव जीवनका लागि कति अमूल्य छ भन्ने कुरा आज तिमीहरूले जानकारी प्राप्त गर्ने छौ ।  

भाइबहिनी हो ! मानव शरीरका लागि जति मुटुको महत्त्व रहेको हुन्छ त्यति नै समयको महत्त्व रहेको हुन्छ । समय अमूल्य भएकाले यसको महत्त्व पैसा, हीरा, मोती, मणि, सुन आदि केहीसँग पनि तुलना हुँदैन ।  समय एउटा यस्तो चक्र हो, जुन कुमालेको चक्रजस्तै फनफनी घुमिरहेको हुन्छ । यो आफ्नै गतिमा दौडिरहेको हुन्छ । न त यसलाई कसैले रोकेर रोक्न सक्छन्, न त आफै रोकिन्छ । यो निरन्तर निर्विछिन्न रूपमा आफ्नै रफ्तारमा चलिरहन्छ । समयले कसैलाई पनि पर्खिंदैन ।

समय एक पटक गुमिसकेपछि कहिल्यै फर्केर आउँदैन । जस्तोसुकै मै हुँ भन्नेहरू पनि समयलाई आफ्नो कब्जामा राख्न सक्दैनन् । बरु समयले सिङ्गो मानव समुदायलाई आफ्नो कब्जामा राख्न सक्छ । त्यसैले मानव जीवनमा समयको अत्यधिक महत्त्व रहेको छ । अझ भन्ने हो भने विद्यार्थीलाई त झन् समयको अति महत्त्व हुन्छ । समयले कसैलाई पनि पर्खिंदैन त्यसैले मानिसले तत्काल गर्नुपर्ने काम भोलि, पर्सि भन्दै थाँती राख्नु हुँदैन । 

समय रहुञ्जेल त्यो काम सकिसक्नु पर्दछ नत्र पछि पछुताउनुको विकल्प अरू केही हुँदैन । जसले समयको महत्त्वलाई राम्ररी बुझेको हुन्छ  उसले जुनसुकै कार्य पनि सरल अनि सफल रूपमा सही समयमा सम्पन्न गर्दछ । जसले समयको महत्त्वलाई अलिकति पनि पर्वाह गर्दैन उसलाई जिन्दगीमा सफलता हासिल गर्न हम्मेहम्मे नै पर्दछ । 

समय र मानिसको बीचमा एकोहोरो सम्बन्ध रहेको हुन्छ । मानिसले समयको महत्त्वलाई बुझ्न सक्छ तर समयले मानिसको ढिलासुस्ती र मर्मलाई कहिल्यै बुझ्न सक्दैन । अझ  विद्यार्थी जीवनमा त समयको यति महत्त्व छ कि विद्यार्थीको समय व्यवस्थापनले नै उनीहरूको भविष्यको निर्धारण गर्न मद्दत गर्दछ । 

कतिखेर उठ्ने, कतिखेर सुत्ने, कतिखेर गृहकार्य गर्ने, कतिखेर मनोरञ्जन गर्नेजस्ता सम्पूर्ण कार्य समयमा गर्न सके सफल व्यक्तित्व बन्न सकिन्छ । त्यसैले समय जीवन हो । जसको महत्त्व जीवनलाई सत्मार्गमा उन्मुख गराउन प्रेरित गर्छ । 

समयमै समयको महत्त्व बुझ्न सकिएन भने जिन्दगीमा मानिसले पछुताउनु पर्ने हुन्छ । यदि हामी समयलाई बर्बाद गरिरहेका छौँ भने समयले हामीलाई बर्बाद गरिदिन सक्छ ।  जीवनमा एक पटक सुनौलो अवसर जसलाई पनि आउँछ । त्यस्तो स्वर्णिम अवसर कसैले पनि गुमाउनु हुँदैन । 

तसर्थ, सिङ्गो मानव समुदायका लागि समयको अत्यन्तै महत्त्व रहेको हुन्छ । यसलाई व्यर्थ खेर नफाली सही तरिकाले सदुपयोग गर्नु अत्यावश्यक छ । त्यसैले भाइबहिनी हो ! खाली समयको पनि यसरी उपयोग गर्नु पर्दछ ता कि त्यो समय पनि उपयोगी सिद्ध होस् ।