काठमाडौं, चैत २६ गते। काठमाडौँ उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये सात जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
२४ घण्टामा देशभरका प्रयोगशालाबाट १२ सय १६ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको थियो। सोही समयमा ११ जना सङ्क्रमणमुक्त भएका छन्। २६ हजार ९७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले कोरोना नियन्त्रण गर्न सही तरिकाले मास्क लगाउन आग्रह गर्नुभएको छ।
उहाँले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गनुभएको छ। उहाँका अनुसार काठमाडौँका स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ।
मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ।