काठमाडौं, चैत २६ गते। महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले आइतबार विज्ञप्ति जारी गर्दै हाम्रो बजार डट कम नामक अनलाइन वेबसाइटबाट विभिन्न प्रयोजनमा ठगी गर्दै आएका हुम्ला सिमिकोट नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा शाहीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ।
२४ वर्षीय शाही भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा अस्थायी बसोबास गर्दै आएका थिए।
शाहीले आकर्षक नक्कली विज्ञापन पोष्ट गर्ने र ग्राहक सम्पर्कमा आएपछि मोबाइलको डेलिभरी, कुरियर चार्ज लगायतको प्रयोजनका निम्ति बैङ्क खाता, ई–सेवा तथा खल्ती वालेटबाट रकम असुल्ने गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। तत्पश्चात् उनी सम्पर्कविहीन हुने गरेका थिए।
उनीमाथि थप आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको प्रहरीले जनाएको छ।