काठमाडौँ, चैत २६ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका विभिन्न ठाउँमा सडकको क्षेत्राधिकार मिचेर बनाइएका प्रहरी बिट हटाउन सम्बन्धित मन्त्रालय र निकायलाई आग्रह गर्नुभएको छ । उहाँले शानिबार सामाजिक सञ्जालमार्फत महानगरभित्र सडक तथा सडकपेटी मिचेर निर्माण गरिएका १९ वटा प्रहरी बिटको ठेगानासहित तस्बिर सार्वजनिक गर्दै यथाशीघ्र हटाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको हो ।
उहाँका अनुसार काठमाडौँ महानगरभित्र प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी, ढल्को, ताम्सीपाखा, रुद्रमती मार्ग मैतीदेवी, असनचोक, नयाँ सडक (न्युरोड) पीपलबोट, चिकमङ्गल, धोबीचौर, बानेश्वर देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि र माछापोखरीमा सडकपेटीमै प्रहरी बिट छन् ।
ऐन नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि रहेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले ती संरचना आफैँ नहटाए समतामूलक कानुनको प्रयोग गरेर महानगरले हटाउन बाध्य हुने चेतावनी दिनुभएको छ । उहाँले सडकपेटी सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर नै महानगरले सडकपेटी व्यापार रोकेको स्मरणसमेत गराउनुभएको छ । महानगरले यसअघि मैतीदेवीमा रहेको एउटा प्रहरी बिट डोजर लगाएर हटाएको थियो ।
उहाँले भन्नुभयो, “कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगका लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।” महानगर प्रमुख साहले सामाजिक सञ्जालमा राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरेको उल्लेख गर्नुभएको छ । उहाँले कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग हुन्न भन्ने तथ्य स्थापित गर्न राज्यका सबै निकाय तयार बन्नुपर्ने पनि उल्लेख गर्नुभएको छ । यसैबीच महानगर प्रमुख साहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताउनुभएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले शनिबारदेखि सिंहदरबारको फोहोर नउठाइने बताउनुभएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने अहिलेको अवस्थामा सडकपेटीमा रहेका प्रहरी बिट स्थानान्तरण गर्ने विषय सङ्घीय र स्थानीय सरकारको विषय भएकाले गृहमन्त्री र महानगरका प्रमुखबीच छलफलबाट यस विषयको निराकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडकपेटीमा भएका संरचना हटाउने हो र महानगरलाई सुरक्षा चाहिन्छ भने महानगरले नै ठाउँ दिनुपर्छ होला । प्रहरी बिट सुरक्षा उद्देश्यले राखिएका छन् । महानगरले उपयुक्त ठाउँ दिन्छ भने प्रहरी बिट जुन बेला पनि स्थान्तरण गर्न सकिन्छ ।”
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले प्रहरी बिट हटाउनेसम्बन्धी काठमाडौँ महानगरपालिकाबाट अहिलेसम्म नेपाल प्रहरीलाई कुनै औपचारिक पत्र प्राप्त नभएको बताउनुभयो । पत्र आउने बित्तिकै प्रहरीले तत्काल ती बिट हटाउने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।