• ४ पुस २०८१, बिहिबार

सिकेको सिप पुँजीको सदुपयोग गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “तपाईंहरूले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा सदुपयोग गर्नूस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्धन गर्न प्रतिबद्ध छ ।” 

विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।