• ४ पुस २०८१, बिहिबार

नातिकाजी सम्मान तथा पुरस्कार घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ । वरिष्ठ गायिका मीरा राणाको संयोजकत्वमा गठित सम्मान तथा पुरस्कार सिफारिस समितिको सिफारिस अनुसार सम्मानित तथा पुरस्कृतको नाम सार्वजनिक गरिएको हो । 

नातिकाजी स्मृति समाजद्वारा बुधबार राजधानीमा आयोजित सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीमा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार नगेन्द्र थापा, बोमबहादुर कार्की, धन लामा, प्रकाश सायमि, ज्ञानुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्‌का र किरण केसी ‘क्रोधी’ लाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० प्रदान गरिने भएको छ । 

त्यस्तै हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल (खिमबहादुर गौतम) र सम्राट थापालाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० दिइने भएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०८० भोला पौडेल, डेभिड शङ्कर, स्मिता दाहाल र कल्याण सिंहलाई प्रदान गरिने भएको छ । यसै गरी रमेश पोखरेललाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०८०, रामप्रसाद अवस्थी, सुषमा शाही ठकुरी र कृष्ण विकलाई प्रदान गरिने भएको छ । साहित्यकार विमल भौकाजी र सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने जनाइएको छ । 

गोरखापत्रकर्मी सुकृतलाई पुरस्कार

गोरखापत्रका कलापत्रकार सुकृत नेपाललाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । दुई दशकदेखि कला पत्रकारितामा सक्रिय नेपालसहित सञ्चारकर्मी सुशील अर्याललाई सो पुरस्कार प्रदान गरिने समाजका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नेपाली सङ्गीतका मूर्धन्य व्यक्तित्व नातिकाजी श्रेष्ठको सम्झना र प्रसादस्वरूप हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको चर्चा गर्नुभयो ।

अध्यक्ष बाँस्कोटाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नातिकाजीको योगदानलाई जीवन्त राख्न विविध कार्यक्रम गरिँदै आएको चर्चा गर्दै नातिकाजीबिना नेपाली सङ्गीतको इतिहास अपूरो हुने बताउनुभयो ।