गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । नेपाल ग्रामीण चलचित्र महोत्सव नेरुफको चौथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहने महोत्सवको उद्देश्य पर्यटन प्रवर्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिने छ ।
महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । महोत्सवमा वृत्तचित्र, छोटा चलचित्र, फिचर फिल्म र भाषाभाषी चलचित्रलाई समावेश गरिने छ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने छ । महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र समेटिएका छन् ।