• ११ मंसिर २०८१, मङ्गलबार

१८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

blog

सांकेतिक तस्बिर ।

शान्ता अधिकारी

 चितवन, चैत २५ गते । ठूलो परिणाममा लागु औषध गाँजासहित चितवन प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले राप्ती १ लोथरबाट सधिन्न भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो । 

प्रहरीले मानिस पक्राउसँगै गाँजा बोकेको भारतीय नम्बर प्लेटको ट्रक र १८० किलोग्राम लागु औषध गाँजा र एक थान मोबाइल बरामद गरेको छ ।  

प्रहरीले दिएको सूचनाअनुसार पूर्व पश्चिम लोकमार्ग सडक खण्डको भण्डाराबाट लोथर तर्फ जाँदै गरेको बीआर ०६ जी २१२८ लेखिएको नम्बर प्लेट भएको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकले बेरिएका १६ वटा पोकामा रहेको लागुऔषध गाँजा फेला परेको थियो ।

शुक्रबार बिहान ६ :३० बजेको समयमा चेक जाँच गर्दा उक्त खाली ट्रकमा चालक मात्र रहेका थिए । पक्राउ परेका व्यक्ति चालक भारत पूर्वी चम्पारण बिहार रक्सौल घर भएका वर्ष ३० का कुन्दन पटेल रहेको खुल्न आएको छ ।

उक्त लागु औषध उनी आफैँले जिम्मेवारी लिएर लैजाँदै थिए या ट्रकमा रहेका अन्य यात्रुहरू फरार भएका हुन् त्यस बारेमा भने सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक पटेलको साथमा रहेको रियल मी कम्पनीको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

चितवनको पूर्वी उत्तरी र मकवानपुरको पश्चिमी पहाडी क्षेत्रमा गाँजाको अवैध खेती हुँदै आएको छ ।