• १२ मंसिर २०८१, बुधबार

नमुना बस्तीमा भौतिक पूर्वाधारको अभाव

blog

बिहुँ–५ मा निर्माण गरिएको नमुना बस्ती । नवीन शिशिर विक ।

नवीन शिशिर विक

बागलुङ, चैत २४ गते । बागलुङको काठेखोला गाउँपालिका –५ बिउँ काहुलेका पहिरो विस्थापितका लागि तयार पारिएको नमुना बस्तीमा भौतिक पूर्वाधारको अभाव भएको छ । नमुना बस्तीमा भौतिक संरचना निर्माण गर्न प्राप्त बजेट कोरोना सङ्क्रमण कालमा बजेट कार्यान्वयन नहुँदा व्यवस्थित खानेपानी, ढल निकास, सार्वजनिक भवन र सडकको पहुँच मार्ग अभाव भएको हो । 

यस्तै, नमुना बस्तीमा खानेपानीको अभाव छ । वर्षा यामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन र बस्ती वरपर बनाउने भनिएको पदमार्ग बनेन  । भौतिक संरचना निर्माणको लागि कोरोना महामारी अघि ४० लाखको योजना थियो । नाली, पानी, भवन र बाटोका बजेट विनियोजन भए पनि कामै नभई सकिएको उपभोक्ता समितिका अध्यक्ष तथा विस्थापित धनमाया दर्जीले जानकारी दिनुभयो । 

"आठ लाखको काम गरेर सानो नाली बनाइयो", उहाँले भन्नुभयो, "बाँकी काम गर्न सकिएन, कोरोनापछि बजेट नै आएन ।" सबै गाउँमा मोटरबाटो पुगे पनि मध्यपहाडी लोकमार्ग नजिकै रहेको नमुना बस्तीमा सडक विस्तार नहुँदा दुःख लागेको स्थानीयको भनाइ छ । सरकारले आफूहरूका लागि खानेपानी र सडक विस्तार गरे दैनिकी सञ्चालन गर्न सहज हुने दर्जीले बनाउनुभयो ।

"ठुलो घर त हामीले मागेकै छैनौ, सके बनाउँला नसके काम चलाउँला", दर्जीले भन्नुभयो, "नमुना बस्ती नामले होइन सुविधाले हुनुपर्छ ।" गाउँपालिकाका अध्यक्ष राजु थापाले नमुना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि योजना बनाएको बताउनुभयो । बस्तीसम्म सडक पुर्‍याउने प्रयास अध्यक्ष थापाको भनाइ छ । 

देश विदेशमा रहेका बिउँ र बागलुङवासीको सहयोग तथा काठेखोला गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुन निर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमुना बस्ती तयार भएको थियो । नमुना बस्ती तयार भए पनि नमुना बस्तीका लागि आवश्यक संरचनाहरू तयार भैसकेका छैनन् । बस्तीका स्थानीयले आफ्नो घरको लालपुर्जा आफूसँग नहुँदा दुःख मान्छन् । दश घरको लालपुर्जा एउटै हुँदा कयौँ कामहरूमा अवरोध आउने गरेको स्थानीय लालबहादुर परियारले बताउनुभयो ।

यसैगरि २०७२ सालको बर्खामा गएको पहिरोले बिउँ काउलेका १४ परिवार विस्थापित भएका थिए । काउले बस्ती बसाउन प्राविधिक दृष्टले जोखिम पूर्ण भएपछि जग्गा खरिद गरेर एकीकृत बस्ती निर्माण गरिएको हो । विस्थापित भएको पाँच वर्षपछि उनीहरूले घर पाए । काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समय बितेपछि गत वर्ष आफ्नै घर पाएका हुन् ।

दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठा भएका घर नजिकै जोडेर बनाइएको छ । नमुना बस्तीको जग्गा र घर सबैको एकमुष्ट लालपुर्जा छ । पुर्खौली घर भएको ठाउँमा घरसँगै उब्जाउन गर्ने जमिन पहिराले बगाएको र नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् । 

"न खेती गरेर खाने जमिन छ, नत पशु पालौभने गोठ", स्थानीय रुपा दर्जीले भन्नुभयो, "घरमा खाने तरकारी त फलाउन सकिन्थ्यो, एक टुक्रा जग्गा पनि छैन ।" मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ । 

घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जीको भनाइ छ । ठुलो परिवार भएकाहरूलाई नमुना बस्तीमा भनेका घरसमेत अपुग छ । एउटा कोठामा भान्छा र अर्को कोठामा चार पाँच जना कोचाकोच गरेर बस्नु परेको दर्जीले बताउनुभयो ।