• १२ मंसिर २०८१, बुधबार

ढुङ्गा रोक्न ग्याबिन जाली

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत २४ गते । बाढीपहिरो रोक्न प्रायः ग्याबिन जाली हाल्ने गरिन्छ तर बाजुराको बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमुनिको मौरे क्षेत्रमा भने चट्टान (ढुङ्गा) बचाउन ग्याबिन हालिएको छ।

बाजुराका झन्डै १५० भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराको प्रतिवेदनमा उल्लेख छ। ती बस्तीको बाढीपहिरो रोक्न ग्याबिन लगाउनुपर्नेमा चट्टान बचाउन ग्याबिन लगाइएको छ। 

खोला र नदीको छेउका दर्जनौँ बस्ती बर्सेनि माथिबाट पहिरो र तलबाट नदीले काट्दै गरेपछि जोखिममा पर्ने गरेका छन्। तीनै तहका सरकारले त्यस्ता बस्ती जोगाउन ध्यान दिएको छैन। 

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको ४० लाख रुपियाँमा बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमुनि मौरेको चट्टानमा नभई त्यहाँ रहेको जमिन जोगाउन ग्याबिन हालिएको बूढीगङ्गा नगरपालिकाका–६, सायलका हिमाल भारतीले बताउनुभयो। सायल क्षेत्रका भारती समुदायको ‘समाधिस्थल’ भएकाले त्यसलाई बूढीगङ्गा नदीबाट बचाउनका लागि प्रदेश सरकारलाई बजेट माग गरिएको बताइएको छ। ग्याबिन हालेपछि समाधि बचेको उहाँले बताउनुभयो।

भारती समुदायको त्यो ठाउँ लास गाड्ने समाधिस्थल हो। भारती समुदायले लास जलाउने नभई गाड्ने गर्छन्। भारती समुदायको लास गाड्नका लागि अन्य कतै ठाउँ छैन। पुस्तौँदेखि अहिलेसम्म भारती समुदायले त्यसै ठाउँमा लास गाड्ने गर्छन्। २०७६ सालमा बूढीगङ्गा नदीले त्यो ठाउँ बगाएपछि अहिले ग्याबिन हाल्नुपरेको भारतीले बताउनुभयो। बूढीगङ्गा नगरपालिकाको कुँडी, बल्दे, नडाङ्ग, गडतोला, बसाली, साउँवाडा, खोलाल्वाडा, कोटवाडा, फलासैन, बाम्काबजार, बेतालमाण्डौ, सेलापाखालगायतका दर्जनाैँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छन्।

बाढीपहिरोबाट रोक्न ती बस्तीको तलबाट ग्याबिन राख्नुपर्ने देखिएको छ। अहिले ती ठाउँमा ग्याबिन हाल्न बजेट परेको स्थानीय बताउँछन्। बूढीगङ्गा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसीले सायलका भारती समुदायले समाधि बचाउन स्थानीय सरकारबाट नभई प्रदेश सरकारबाट रकम माग गरेको स्पष्ट पार्नुभयो।