• १३ मंसिर २०८१, बिहिबार

बागमतीमा सरकार विस्तारमा ढिलाइ,मन्त्रालय बाँडफाँटमा सकस

blog

राममणि दाहाल 

हेटौँडा, चैत २३ गते । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट राजीनामा दिएको लामो समय हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन।

केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा पनि बदलिएको सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो।

गत पुस २५ गते नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन समर्थन गरेका चार दलमध्ये नेकपा (एमाले) सरकारबाट बाहिरिएको झन्डै दुई साता र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेको एक महिनाभन्दा लामो समय बितिसकेको छ।

तर पछिल्लो गठबन्धनका दलहरूबीच भागबन्डामा चलेको रस्साकस्सीले ११ मन्त्रालयमध्ये आठ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री एक्लैले धान्दै आउनुभएको छ। माओवादी केन्द्रका चार मन्त्रीमा सीमित मन्त्रिमण्डलले प्रदेश मातहतका निकायमा नियुक्तिसँगै महत्वपूर्ण निर्णय गर्दै आएको छ।

सरकार विस्तार हुन नसक्नुमा गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एक अर्कोलाई आरोप लगाउँदै आएका छन्। कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्ले गठबन्धनमा रहेका दलहरूबीच सरकार विस्तार गर्नेबारे सैद्धान्तिक सहमति भए पनि मन्त्रालय भागबन्डाको टुङ्गो अझै नलागिसकेको जानकारी दिनुभयो।

“सरकार छिटोभन्दा छिटो विस्तार गर्ने र सरकारमा गठबन्धनका सबै दल सहभागी हुने छलफल भएको छ, कति मन्त्रालय र कुन कुन मन्त्रालय कुन कुन दलले लिने भन्ने सहमति भइसकेको छैन,” उहाँले भन्नुभयो। मुख्यमन्त्री जम्कट्टेलको दलसहित उहाँलाई समर्थन गरेका कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको मन्त्रिमण्डलमा आआफ्नै दाबी रहेको छ।

कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित छवटा मन्त्रालय, एकीकृत समाजवादीले तीनवटा, हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालय दाबी गरेका छन्। माओवादी केन्द्रले अहिले पाउँदै आएको चारवटा मन्त्रालय यथावत् राख्नुपर्ने अडानमा छ।

सत्ता गठबन्धनमा रहेका दलहरूको दाबीअनुसार मन्त्रिमण्डल भागबन्डा लगाउन हाल रहेको ११ मन्त्रालयलाई फुटाएर १४ वटा मन्त्रालय बनाउनुपर्ने हुन्छ। यसअघि मन्त्रालय टुक्र्याएर आलोचित बनेको बागमती प्रदेश सरकार र मुख्यमन्त्री पुनः मन्त्रालय फुटाउने पक्षमा सहमत देखिनुहुन्न।

कार्यदलले पनि सकेन 

मन्त्रिमण्डलमा भागबन्डा मिलाउन सकस भएपछि संवादबाट समस्या समाधान गर्न गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहेको कार्यदल बनाएको एक साता भइसक्दा पनि कार्यदलले ठोस निर्णय गर्न सकेको छैन र वार्तामा सीमित बनेको छ।

कार्यदलका सदस्यसमेत रहनुभएका माओवादी केन्द्रका प्रदेशका मुख्य सचेतक रत्न ढकालले यसअघि कार्यदलको बैठक बसे पनि भागबन्डामा सहमति नजुटिसकेको बताउनुभयो। 

“मुख्यमन्त्री जम्कट्टेलले आजभोलि सत्ता गठबन्धनका दलका नेतासँग बसेर छलफल गर्दै हुनुहुन्छ, मुख्यमन्त्रीले कुरा गरिसकेपछि कार्यदलले कति मन्त्रालय र कुन कुन मन्त्रालय कसले लिने भन्ने निक्र्योल गर्छ,” मुख्य सचेतक ढकालले भन्नुभयो।

कांग्रेसलाई गुट मिलाउन सकस

कांग्रेसभित्रै को को मन्त्रीमा जाने भन्नेबारेमा सहमति नबन्दा र बढी मन्त्रालय माग गर्दासमेत सरकारमा ढिलाइ भएको माओवादी केन्द्रको दाबी छ। कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ।

माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कांग्रेसले मन्त्रीको नाम दिन ढिलाइ गरेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको गोरखापत्रलाई बताउनुभयो। “कांग्रेसको छवटा मन्त्रालयको दाबी नछाडेपछि र माओवादी केन्द्रले अहिले पाएको मन्त्रालय नछोड्ने भएपछि मुख्यमन्त्री आफैँ भागबन्डा विवाद मिलाउन लाग्नुभएको छ,” उहाँले भन्नुभयो। 

कांग्रेसका प्रमुख सचेतक काफ्ले कांग्रेसको बटमलाइन भनेको भौतिक पूर्वाधार विकास मन्त्रालयसहित छ मन्त्रालय भएको र एकीकृत समाजवादीलाई सहमतिमा ल्याउन मुख्यमन्त्री जम्कट्टेलले छलफल गरिरहनुभएको जानकारी दिनुभयो।

समाजवादीलाई दुई, हाम्रो पार्टीलाई एक तीनवटा मन्त्रालय दाबी गरेको एकीकृत समाजवादीलाई एउटा र हाम्रो नेपाली पार्टीलाई प्रदेश सभाको समितिको सभापति दिएर चित्त बुझाउने प्रयास भइरहेको जनाइए पनि एकीकृत समाजवादीले दुईवटा मन्त्रालयभन्दा कम नहुने भनेपछि मुख्यमन्त्री जम्कट्टेल एकीकृत समाजवादीलाई मनाउने प्रयासमा लाग्नुभएको बताइएको छ।

एकीकृत समाजवादीका नेता एवं प्रदेश सभा सदस्य वसन्तप्रसाद मानन्धरले कुन मन्त्रालय र कति मन्त्रालय गठबन्धनमा रहेका दललाई भाग लगाउनेबारेमा कार्यदलमा छलफल भइरहेको र क–कसलाई मन्त्रीमा पठाउनेबारेमा दलभित्र आन्तरिक छलफल भइरहेको जानकारी दिँदै छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभयो। 

उहाँले एकीकृत समाजवादीले कम्तीमा दुईवटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको भन्दै भागबन्डाकै विषयलाई लिएर अब मन्त्रिमण्डल विस्तारमा ढिलाइ नहुने र गठबन्धन दलमा समस्या नआउने बताउनुभयो। “सङ्घमा पनि भर्खरै सरकार विस्तार भएको छ र सङ्घमा सकिएपछि प्रदेशमा विस्तार गर्ने भन्ने छ, अर्को सातासम्ममा सरकार विस्तार हुनेछ,” उहाँले भन्नुभयो।

अझै एक साता लाग्न सक्ने

मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेल विभिन्न कार्यक्रम र भेटघाटमा सहभागी भएर  चैत २५ गतेसम्म साँझ मात्र हेटौँडा फर्कने कार्यक्रम रहेकोले यो साता मन्त्रिमण्डल विस्तारको सम्भावना कम हुँदै गएको देखिन्छ।

गत पुस २५ गते प्रदेश सरकारलाई समर्थन गरेको राप्रपाले गत फागुन १३ गते र एमालेले यही चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। मुख्यमन्त्रीले दोस्रो पटक चैत १० गते विश्वासको मत लिनुभएको थियो।

सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न गठित कार्यदलमा कांग्रेसका तीन जना, माओवादी केन्द्रका दुई जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका एक–एक जना प्रदेश सभा सदस्य रहेका छन्।