• १२ पुस २०८१, शुक्रबार

डेटा सेन्टर इन्टरनेटको घर

blog

विश्वभर हरेक क्षण इन्टरनेटमा नयाँ–नयाँ कन्टेन्टहरू थपिइरहन्छन् । भाइबहिनीले पनि याद गरेकै हुनुपर्छ, हरेक पटक युट्युब चलाउँदा होस् अथवा टिकटक, नयाँ–नयाँ भिडियो आइरहेकै हुन्छन् । फेसबुक, इन्स्टाग्राममा पनि नयाँ फोटो अनि भिडियो उत्तिकै आइरहेका हुन्छन् । यसबाहेक इन्टरनेटमा त्यस्ता करोडौँ साइट छन् जहाँ हरेक पल लाखौँ, करोडौँ नयाँ सामग्री अपलोड भइरहेका हुन्छन् । इन्टरनेटमा हरेक दिन थपिने यी कन्टेन्टहरू कतै न कतै सुरक्षित राखिएका हुन्छन् । त्यसरी सुरक्षित राखिएकै कारण हामीले खोजेको समयमा त्यस्ता कन्टेन्ट इन्टरनेटमा सहजै उपलब्ध हुन्छन् । यसरी इन्टरनेटका कन्टेन्ट सुरक्षित राखिने ठाउँ हो डेटा सेन्टर । इन्टरनेटको अत्यधिक प्रयोग बढेपछि डेटा सेन्टर पनि एकदमै चर्चित हुन थालेको छ । 

डेटा सेन्टर डेटाहरू सुरक्षित तरिकाले राख्ने ठाउँ हो । डेटा भन्नाले फोटो, भिडियो, टेक्स्ट (अक्षर), गेम, अङ्क अथवा कम्प्युटरमा उत्पादन हुने जुनसुकै सामग्री भन्ने बुझिन्छ । यस्ता डेटा सुरक्षित राखिएन भने पछि पाउने सम्भावना हुँदैन । त्यसैले खोजेको र चाहेको समयमा डेटा सजिलै प्रयोग गर्न पाइयोस् भनेर नै डेटा सेन्टरहरू बनाइन्छ । उदाहरणका लागि दुई वर्ष अगाडि फेसबुकमा लेखेको कुरा आज खोज्दा पनि भेटिनुका पछाडि त्यसलाई सुरक्षित तरिकाले राखिएकै कारणले सम्भव भएको हो । 

डेटा सेन्टर बाहिरबाट हेर्दा घरजस्तै देखिन्छ तर यसको बनावट घरभन्दा अलि भिन्न प्रकृतिको हुन्छ । जहाँ झ्यालढोका हुँदैनन् । डेटा सेन्टरभित्र चौबिसै घण्टा बिजुलीको व्यवस्था गरिएको हुन्छ । एक सेकेन्ड पनि बिजुली गएमा इन्टरनेटमै समस्या आउने भएकोले डेटा सेन्टरमा बिजुलीको एकदमै राम्रो व्यवस्था गरिएको हुन्छ । डेटा सेन्टरभित्रको अर्को महìवपूर्ण पाटो हो सर्भर । डेटा सेन्टरमा स्टिल तथा फलामले बनाएका ¥याकहरू हुन्छन् जहाँ सर्भर जडान राखिएको हुन्छ । यस्ता सर्भरहरूलाई केबलमार्फत एकआपसमा जोडिएको हुन्छ । सर्भर भन्नाले भाइबहिनीले हामीले मोबाइलमा प्रयोग गर्ने मेमोरी (एसडी) कार्ड भनेर बुझ्दा हुन्छ । यही सर्भरभित्र डेटाहरू राखिएको हुन्छ । जसरी मोबाइलको मेमोरी कार्डमा हामीले खिचेका फोटा, भिडियो, अथवा आवाज सुरक्षित हुन्छन् त्यसरी नै डेटा सेन्टरभित्र हुने सर्भरमा डेटा सुरक्षित हुन्छन् । 

डेटा सेन्टरमा सुरक्षित हुने डेटाहरू प्रोसेस गर्दा धेरै बिजुली पनि आवश्यक पर्ने भएकाले यसबाट एकदमै ताप उत्पन्न हुन्छ । यसरी उत्पन्न हुने ताप व्यवस्थापन (कुलिङ)का लागि डेटा सेन्टरमा अत्याधुनिक एयर कन्डिसन(एसी) उपकरण राखिएको हुन्छ, जसले उत्पन्न हुने तापलाई कम गर्दै डेटा सेन्टरलाई नियमित तरिकाले सञ्चालन गर्न सहयोग पु¥याउँछ । 

आज हामीले इन्टरनेटमा उत्पादन गर्ने र प्रयोग गर्ने जति पनि कन्टेन्टहरू छन् ति सबै डेटा सेन्टरबाट नै प्राप्त हुने हुन् । वास्तवमा इन्टरनेटले डेटा सेन्टरमा भएको त्यही डेटालाई हामीसम्म ल्याई पु¥याइदिने काम मात्र गर्ने हो । विश्वभरमा हजारौँ ठूला डेटा सेन्टर सञ्चालनमा छन् । त्यस्ता डेटा सेन्टर बनाउन फेसबुक, गुगल, एप्पल, माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीले खर्बौं डलर खर्च गरेका छन् । वास्तवमा प्रविधि कम्पनीको सबैभन्दा ठूलो खर्च अहिले यस्तै डेटा सेन्टरमा भइरहेको छ । हरेक क्षण उत्पादन हुने डेटाको सुरक्षाका लागि पनि यस्तो लगानी गर्न त्यस्ता कम्पनी बाध्य छन् । 

हामीले इन्टरनेटमा प्रयोग गर्ने सबै सामग्री डेटा सेन्टरमै राखिने भएकाले यसलाई इन्टरनेटको घर नाम दिइएको हो । विश्वभरका डेटा सेन्टरलाई जोड्ने काम इन्टरनेटले नै गर्छ । डेटा सेन्टरलाई सही तरिकाले काम गरिदिएकै कारण इन्टरनेटमा हामीले सर्च गरेको कुरा सजिलै पाइने भएको हो । 

नेपालमा पनि अहिले डेटा सेन्टरको धेरै चर्चा हुन थालेको छ । नेपाल सरकारले पनि सिंहदरबारमा डेटा सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ सरकारी डेटा सुरक्षित राखिएको छ । हामीले सरकारी वेबसाइट खोल्दा प्राप्त हुने जानकारी त्यही डेटा सेन्टरबाट प्राप्त हुने हो । सरकारले हेटौँडामा पनि अर्को डेटा सेन्टर बनाएको छ । त्यस्तै कोहलपुरमा पनि डेटा सेन्टर बनाउन सुरु गरेको छ । कतिपय निजी कम्पनीले पनि आफँै लगानी गरेर डेटा सेन्टर सञ्चालनमा ल्याएका छन् । टेलिकम कम्पनी एनसेलले पनि दुई अर्ब रुपियाँ लगानी गरेर ललितपुरमा आफ्नै डेटा सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ पैसा तिरेर अरू निजी कम्पनीले आफ्नो डेटा राख्ने सुविधा लिन सक्छन् ।