काठमाडौँ, जेठ १३ गते । चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार चालु आवमा गण्डकी प्रदेशले ५.५१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको हो । त्यसपछि बागमती प्रदेशको ५.१८ प्रतिशत वृद्धिदर रहने अनुमान छ ।
कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा गत आवको तुलनामा उल्लेख्य सुधार हुने अनुमान छ । गत आवमा ३.२६ प्रतिशतको वृद्धिदर हासिल गरेको कर्णालीले चालु आवमा ४.७४ प्रतिशत वृद्धिदर हासिल गर्ने कार्यालयको अनुमान छ ।
कर्णालीपछि लुम्बिनी प्रदेशको वृद्धिदर ४.७० प्रतिशत हुने अनुमान गरिएको छ । उल्लिखित प्रदेशहरूको वृद्धिदर चालु आवका लागि अनुमान गरिएको राष्ट्रियस्तरको ४.६१ प्रतिशतको वृद्धिदरभन्दा बढी हो ।
कार्यालयका अनुसार मधेश प्रदेशको वृद्धिदर ४.५० प्रतिशत हुने छ भने कोशी प्रदेशको ३.३४ प्रतिशतको हुने अनुमान छ । चालु आवमा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।
अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै बागमती नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ । कार्यालयका अनुसार चालु आवका लागि मुलुकको कुल अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकामा बागमतीको मात्र ३६.५२ प्रतिशत योगदान रहने छ । त्यसपछि कोशी प्रदेशको १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत योगदान हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान दिँदा कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत हुने अनुमान छ ।
गत आवको तुलनामा मुलुकको कुल अर्थतन्त्रमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घट्ने पाइएको छ । मधेश र बागमतीको भने केही बढ्ने अनुमान छ ।
बागमतीवासीले कमाउँछन् धेरै
प्रतिव्यक्ति आम्दानीका हिसाबले बागमती प्रदेशका बासिन्दाले सबैभन्दा धेरै कमाउने पाइएको छ । चालु आवमा यस प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय दुई हजार ६०१ डलर पुग्ने अनुमान छ । गत आवमा यस्तो आम्दानी दुई हजार ४९२ डलर थियो ।
बागमतीपछि गण्डकी प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय सबैभन्दा धेरै हुने पाइएको छ । चालु आवमा यहाँका स्थानीयको आम्दानी एक हजार ६२० डलर पुग्ने अनुमान छ । बागमती र गण्डकीबाहेक बाँकी सबै प्रदेशको प्रतिव्यक्ति आम्दानी राष्ट्रियस्तरको प्रतिव्यक्ति आम्दानीभन्दा कम छ । चालु आवका लागि कार्यालयले नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ४९६ पुग्ने अनुमान गरेको छ ।
तेस्रो स्थानमा रहेको कोशी प्रदेशका स्थानीयको प्रतिव्यक्ति आम्दानी एक हजार ४०१, लुम्बिनी प्रदेशको एक हजार २०१, सुदूरपश्चिम प्रदेशको एक हजार १५३, कर्णाली प्रदेशको एक हजार ८९ डलर पुग्ने अनुमान छ । सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भने मधेश प्रदेशको हुने अनुमान छ । मधेशका बासिन्दाको प्रतिव्यक्ति आम्दानी केवल ९३२ डलर हुने अनुमान छ । मधेशका स्थानीयको प्रतिव्यक्ति आयको तुलनामा बागमती प्रदेशवासीको आयमा करिब तीन गुणाको अन्तर छ ।
कृषिकै योगदान बढी
चालु आवमा पनि बागमती प्रदेशबाहेक बाँकी सबै प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रकै योगदान सबैभन्दा बढी हुने अनुमान गरिएको छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी हुने छ । त्यसपछि घरजग्गासम्बन्धी कारोबारको सेवाको हिस्सा बागमतीमा दोस्रो स्थानमा छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा हुने अनुमान छ ।