• ४ जेठ २०८१, शुक्रबार

स्टार्टअप नीति पारित गर्न आग्रह

blog

काठमाडौँ,चैत २१ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । 

मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो । 

महासङ्घको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा रहेकाले तत्काल पारित गर्न महासङ्घले अनुरोध गरेको हो । महासङ्घका अध्यक्ष शेखर गोल्छाले सो अवसरमा अर्थतन्त्र सङ्कटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताउनुभयो । अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उहाँको भनाइ छ ।  

अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनुपर्ने सुझाव दिँदै उहाँले बजारमा माग नहुँदा उद्यम व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अवस्था अध्यक्ष गोल्छाको भनाइ छ । 

अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।  अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दातासँग सम्मेलन गर्न पनि सुझाउनुभयो । बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुभयो । 

महासङ्घको भिजन पेपर राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनबारे महासङ्घ र मन्त्रालयबीचको समझदारीलाई अगाडि लैजाने कार्यमा सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।