• १० मंसिर २०८१, सोमबार

पर्यटनमा जागेको आशा

blog

जीवन दुःखको मात्र हुँदैन, आशा जगाउने सन्देशसहित सफलताको पनि हुन्छ। कोरोना महामारीमा घर–भान्छाभित्र आफैँ थुनिएका बेला चोकमा निस्कन पाए त त्यहीँ बसेर खाना खान्थेँ भन्ने सोचिन्थ्यो। हो– अब त्यस्तै चोक, चौतारी, नदी वा तालकिनार, भञ्ज्याङ र डाँडाको टुप्पामा बसेर खान पाइने अवस्था बनेको छ। यसैले विश्वभर पर्य्टक बढ्दै छन्। नेपालमा पनि आन्तरिक मात्र होइन, बाह्य पर्यटकको आवागमन कोरोना महामारीको वर्षभन्दा यता यस पटक सर्वाधिक बढेको छ। कोरोना महामारीभन्दा पहिलाको अवस्थामा पर्यटकलाई स्वागत गर्न र त्योभन्दा बढी सङ्ख्या पु¥याउन केही मेहनत गर्न आवश्यक छ। 

नेपाल पर्यटन बोर्डका अनुसार गत एक महिनामा नेपालले ९९ हजार ४२६ जना पर्यटकलाई स्वागत ग¥यो। तीन वर्षअघि कोरोना महामारीपूर्व सन् २०१९ कै अवस्थामा पर्यटक आवागमन पु¥याउन विश्वका विभिन्न देशले अनेक उपाय अपनाइरहेका छन्। यस क्षेत्रमा भारतपछि धेरै बाह्य पर्यटक नेपालले भित्र्याएको छ। नेपालको आम्दानीको स्रोतमध्ये हातमा गनिने यो क्षेत्र कोराना व्याधिका कारण थला पर्र्दा अर्बौं लगानी खेर जाने हो कि भन्ने चिन्ता थियो। हुनेले वा स्रोत जुटाउन सक्नेले गरेको लगानीको चिन्ता मात्र थिएन, त्यसमा रोजगारी अनि अप्रत्यक्ष रूपमा आयआर्जन गरिरहेका र सम्भाव्य लाभको आशामा रहेकामा चिन्ता थियो। अब कोरोना महामारी नियन्त्रणउन्मुख छ। महामारी नियन्त्रण गर्न विश्वका अधिकांश मुलुकले आवागमनमा गरेको निषेध फुकाइरहेका छन्। यही कारण पनि उन्मुक्त भएर दुई/चार घण्टामै गर्मी चाहिए तराई, चिसो चाहिए हिमाल पहाड पुग्न सकिने नेपाललाई रोजेर बाह्य पर्यटक आगमन बढ्न थालेको छ। तातो र चिसोको सन्तुलन मात्र होइन, जातीय, धार्मिक, सांस्कृतिक सम्मिलनले बनाएको सभ्यता र पाहुनालाई देवतुल्य स्वागत गर्ने संस्कार अनि यहाँको सुरम्य भौगोलिक, प्राकृतिक वातावरणले आकर्षित गरेको छ पर्यटक। त्यसैले पनि नेपाल भित्रिएका पर्यटकको सङ्ख्यामा सन् २०१९ को तुलनामा अहिले ७८ प्रतिशत सुधार देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

कोरोना महामारीयता नेपाल मात्र होइन, विश्वभर पर्यटन क्षेत्रमा नकारात्मक अवस्था भयो। विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव प¥यो। जसरी महामारी नियन्त्रणका प्रयास भए, क्रमशः पर्यटकीय गतिविधि बढेका छन्। राष्ट्रसङ्घीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार सन् २०२२ का अघिल्ला सात महिनामा कोरोनापूर्वको अवस्था तुलना गर्दा विश्वभर ५७ प्रतिशत पर्यटक आवागमन पूर्वअवस्थामा पुग्यो। पछिल्लो वर्ष झन्डै साढे ४७ करोड पर्यटक विश्वमा ओहोरदोहोर गर्दै छन्। विश्वका यति धेरै पर्यटकमध्ये नेपालचाहिँ एक लाख पनि आइपुगेनन्। 

यसको अर्थ हामीले हाम्रो देशको सुन्दरता, स्वागत, संस्कार, प्राकृतिक मनोरम छटाको व्याख्यानमा आत्मरति गरेर मात्र पुग्दोरहेनछ भन्ने बुझ्नुपर्छ। कोरोना महामारीले हामीकहाँ बढी च्यापेको थियो, युरोप र छिमेकी भारत अनि चीनलाई। पछिल्लो अवधिमा विश्वभर बढी पर्यटक (६५ प्रतिशत) युरोपमा पुगे, यस क्षेत्रमा भारतले बढी भित्र्यायो। चीनले आफ्ना नागरिकलाई केही छानिएका देशमा पर्यटनका लागि अनुमति दिएको छ। घुमन्ते र खर्च क्षमता बढ्दो रहेको छिमेकी चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणको अनुमति दिएको छ। यो हाम्रो पर्यटकीय क्षेत्रका लागि सुखद सन्देश हो। विश्वका ठूला जनसङ्ख्या रहेका चीन र भारतबीचमा रहेको नेपालले सात समुद्रपारका मात्र पर्यटक हुन् भन्ने नसोची छिमेकीलाई नै प्राथमिकतासाथ आकर्षित गर्नु सजिलो र बहुलाभदायक पनि छ। 

सायद यही बुझेर होला पर्यटन बोर्डले चिनियाँ पर्यटक आकर्षित गर्न ‘चाइनिज सेल्फ मिसन’ कार्यक्रम गर्ने भएको छ। चीनमा मात्र होइन, खासगरी सार्क र अन्य मुलुकका कूटनीतिक नियोगको समन्वयमा गैरआवासीय नेपालीसमेत परिचालित गरेर पर्यटक आकर्षित गरिनु किफायती पनि हुनेछ। प्राकृतिक सुन्दरताका लोभी पर्यटकमात्र देखिने गरेको नेपालमा पछिल्लो अवधिमा अध्येता र आन्तरिक घुमन्ते पनि बढेका छन्। तिनका रुचिअनुसारका खाद्य र सेवा–सुविधा, विमानस्थल, सडक, आवासजस्ता भौतिक पूर्वाधारमा स्तरोन्नतिमा सरकार र सम्बद्ध व्यवसायीको ध्यान पुग्नु वाञ्छनीय छ।