• ३० जेठ २०८२, शुक्रबार

जटिल बन्दै मनोरोग

blog

स्वास्थ्य नै धन हो । शरीर र मन स्वस्थ रहे मात्र जीवन सफल हुन्छ । निरोगी भएर बाँच्न सक्नु सबैभन्दा उत्तम विकल्प हो । आजका धेरै मानिसको जीवनशैली प्राकृतिक नभई कृत्रिम छ । जलवायु र खाद्यान्न प्रदूषणले मानवीय जीवन प्रभावित छ । नागरिक स्वास्थ्यका लागि भनेर धेरै ठाउँमा अस्पताल खुलेका छन् । थरी थरीका औषधी बनेका छन् । विभिन्न खाले रोगव्याधिको प्रकोप बढ्दो छ । मानिसले आयआर्जनको ठुलो अंश स्वास्थ्य उपचारका लागि खर्च गर्नुपर्ने बाध्यता छ । सबै परिस्थिति अनुकूल नहुँदा र कृत्रिम जीवनशैलीको प्रभाव बढ्दा मानवीय जीवन तनावपूर्ण छ । साधन सीमित छन् तर आवश्यकता असीमित । सबै आवश्यकता पूरा गर्न सम्भव छैन । सीमित साधनबाट असीमित आवश्यकता पूरा गर्न सकिँदैन । आवश्यकताको उत्तम विकल्प छनोट गर्न नसक्दा तनाव बढ्छ । तनाव बढ्दै जाँदा मानसिक रोग लाग्छ । यसको समयमै उपचार भएन भने यसले ठुलो सङ्कट निम्त्याउने गर्छ ।  

यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । चितवनको भरतपुर महानगरपालिका–२५ निवासी उनले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे । अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलीजुली पथमा एक महिला र उनका दुई छोरीको हत्या भयो । जेठ १४ गते स्थानीय ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीय स्नेहा बस्याल र चार वर्षीय नानी बस्यालको हत्या भयो । उनीहरूको हत्या अभियोगमा प्रहरीले स्थानीय सुजन कोइरालालाई पक्राउ गरेको छ । हत्या भएकी दीपा सुजनकी पूर्वपत्नी, स्नेहा र नानी छोरी हुन् । उनले घरेलु हतियार हम्बर र चक्कु प्रहार गरी हत्या गरे । अहिले प्रहरी अनुसन्धानका व्रmममा रहेका सुजन यसअघि दाइको हत्या गरेको अभियोगमा जेल जीवन बिताई चार वर्षअघि छुटेका थिए । जेलबाट छुटेपछि उनले एकल जीवन बिताइरहेका थिए । यी दुवै जना गम्भीर प्रकृतिका मानसिक रोगी हुन् । पछिल्लो समय यस्ताखाले सामूहिक हत्या जस्ता डरलाग्दा घटना समाजमा बढेका छन् । अझै अरूको हत्या गरिसकेपछि आफूले समेत आत्महत्या गर्ने क्रम पनि बढेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ को तीन वर्षमा ३२ वटा यही प्रकृतिका सामूहिक हत्याका मुद्दा दर्ता भएका छन्; जसमा आफन्तको हत्यापछि १९ जनाले आत्महत्या गरेका र १६ जनाले आत्महत्या प्रयास गरेका उल्लेख छ । महिला २१ जना र बालबालिका १९ जना यस्ता घटनामा मारिएका छन् । सामूहिक हत्यामा पर्ने पुरुषको सङ्ख्या भने तीन जना छ । चितवन मेडिकल कलेज मनोरोग विभागका प्राडा शैलेन्द्रराज अधिकारी यसरी सामूहिक हत्या गरी आत्महत्या गर्न खोज्ने मानिस सामान्य  नभई जटिल खालका मनोरोगी भएको बताउनुहुन्छ । यस्ताखाले मनोरोगी समाजमा बढिरहेका छन् । लीलाराज लामो समयदेखि मानसिक रोगी भएको अनुसन्धानबाट खुलेको छ । उनी नेपाली सेनाको जमदार पदमा कार्यरत रहेकै बेला मानसिक समस्या भएपछि केही वर्षअघि सेवाबाट निवृत्त भएका थिए । 

आज नेपालमा सबैखाले उमेर समूहमा डिप्रेसनको समस्या देखिएको छ । डिप्रेसनले आफूलाई मात्र क्षति गर्छ । यसको समयमै उपचार गरिएन भने जटिल खालको मानसिक समस्याको रूप लिन्छ । यसले आफूलाई मात्र होइन, अरूलाई पनि क्षति पुर्‍याउँछ । मनोचिकित्सक प्राडा शैलेन्द्रराज अधिकारी नेपालमा विभिन्न अध्ययनले १० देखि १५ प्रतिशत नागरिक मनोरोगी भएका र मनोरोगीमध्ये पनि २० प्रतिशत जटिल खालका मनोरोगी रहेको बताउनुहुन्छ । कुनै पनि मनोरोगीलाई होच्याइएको छ, उसलाई विभिन्न कलङ्क लगाइएको छ, औषधी छाडेको वा रक्सी गाँजा, लागुऔषध जस्ता कुलतमा फसेको छ भने ऊ आक्रामक खालको मनोरोगी हुन्छ; जसले अप्रिय घटना गराउन सक्छ । प्राडा अधिकारी यस्ता बिरामीको नियमित उपचार र औषधी सेवन नै समस्या समाधानको बाटो भएको बताउनुहुन्छ । मनोरोगबारे समाजमा जनचेतना जगाउनु पर्छ । सरकारी तवरबाटै पुनस्र्थापना केन्द्र निर्माण गरेर मनोरोगीलाई उद्धार गरिराख्ने वातावरण बनाउन सकियो भने मात्रै पनि समाजमा हुने यस्ता डरलाग्दा अपराध कम हुँदै जाने छन् ।