नेपालको संविधानले प्रत्येक नेपाली नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । स्वास्थ्य सेवासँगै संविधानले अरू धेरै क्षेत्रमा मौलिक हकको व्यवस्था गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र अभ्यासको यो एक दशकमा संविधानले प्रत्याभूत गरेका सबै मौलिक हकको कार्यान्वयन समान तवरले गर्न सकिएको छैन । प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका निम्ति पर्याप्त स्रोतसाधन र संरचना बन्नपर्ने हुन्छ । सीमित स्रोतसाधन र संरचनाले सबै मौलिक हक समान तवरले कार्यान्वयन गर्न नसकिएको हो । कतिपय क्षेत्रमा भने आशालाग्दो गरी मौलिक हक कार्यान्वयनले गति लिएको छ । त्यसमध्ये स्वास्थ्य क्षेत्रमा नागरिकले प्राप्त गर्नुपर्ने मौलिक हक कार्यान्वयनले तीव्र गति लिइरहेको छ । त्यति मात्र होइन देशका स्वास्थ्य पूर्वाधारका क्षेत्रमा यताको दशकमा राम्रो प्रगति हासिल गरेको छ । कुनै बेला कतिपय जटिल रोगका निम्ति मात्र होइन, सामान्य रोगका निम्ति पनि बिदेसिनुपर्ने बाध्यता थियो । आर्थिक क्षमता भएकालाई पनि छिमेकी मुलुक भारत तथा थाइल्यान्ड जस्ता देशमा जानुपर्ने अवस्था थियो । नेपालमा उपचारको व्यवस्था नहुँदा सक्नेका निम्ति बाहिर जानुको विकल्प पनि थिएन, नसक्नेले रोग पालेर बस्नुपर्ने थियो । अब बिस्तारै अवस्थामा परिवर्तन आएको छ । धेरै रोगका निम्ति बाहिर जानुपर्ने बाध्यता छैन । त्यति मात्र होइन, विदेशीसमेत नेपालमा उपचारका निम्ति आउन थालेका छन् । नेपाल स्वास्थ्य उपचार पर्यटनका निम्तिसमेत सम्भावनायुक्त मुलुक बन्दै छ । स्वास्थ्य क्षेत्रको सुधारले यस्तो प्रगति सम्भव भएको हो ।
क्षेत्रगत रूपमै भन्नुपर्दा एक दशकअघिसम्म नेपालमा मिर्गौला प्रत्यारोपण सम्भव थिएन । अब मिर्गौला प्रत्यारोपणकै निम्ति विदेश जानु पर्दैन । क्यान्सरको उपचार त झनै जटिल थियो । नेपालमा पूर्वाधार थिएन । क्यान्सरको उपचार नेपालमै सम्भव हुँदै छ । सरकारले सहयोग गर्ने वातावरणसमेत बनेको छ । मुटुको उपचार अझ राम्रो भएको छ । सरकारी तथा निजी क्षेत्रबाट मुटुसम्बन्धी उपचार तथा शल्यक्रियामा राम्रो प्रगति भएको छ । कलेजो प्रत्यारोपणसमेत नेपालमै हुन थालेको छ । आँखा तथा दाँतको उपचारमा पनि राम्रो पूर्वाधारसँगै सेवा विस्तार भएको छ । आँखा उपचारमा त नेपाल विश्वमै ख्याति कमाउँदै छ । दाँतको उपचार सस्तो र भरपर्दो बन्दै छ । यी क्षेत्रमा उपचारका निम्ति नेपालीलाई त सुबिस्ता भएकै छ, विदेशमा रहेका नेपाली तथा विदेशी नागरिक पनि नेपालमा आएर उपचार गर्न थालेका छन् । मिर्गौला प्रत्यारोपण अघि डायलासिसको ठुलो महत्व हुन्छ । यो सेवामा पनि व्यापकता आएको छ । सरकारले आर्थिक सहयोग पनि गरिरहेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपणमा राम्रो सफलता हासिल गरिरहेको छ । यस्ता अनेक उदाहरण छन् । भारत र बङ्गलादेशका बिरामी पनि कतिपय स्वास्थ्य सेवा लिन नेपाल आउनु थाल्नु सकारात्मक पक्ष हो । आँखा उपचारमा त ठुलै आकर्षण बढेकै छ ।
वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा सुधारका अनेक कदम चालिरहेको छ । स्वास्थ्य बिमाको संस्थागत विकास र विस्तारले स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुग्न थालेको हो तर अझै कतिपय समस्या भने छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति प्रभावकारी काम गरिरहेको विषयलाई जनसाधारण तथा मिडियाले सकारात्मक रूपमा लिएको देखिएको छ । मन्त्री पौडेलका अनुसार स्वास्थ्य प्रणाली सुधारका क्रममा अङ्ग प्रत्यारोपण सेवा देशका सबै प्रदेशमा विस्तारतर्फ काम अगाडि बढेको छ । मुटु र क्यान्सर उपचार सेवालाई पनि विस्तारित छन् । स्वास्थ्य बिमा प्रावधान तथा संस्थागत सुधारका कारण जटिल रोगका उपचारलगायतका स्वास्थ्य सेवामा पहुँच विस्तारले नेपालको स्वास्थ्य प्रणाली प्रगतितर्फ उन्मुख छ । स्वास्थ्य क्षेत्रमा सरकारी सेवालाई गुणस्तरीय र सर्वसाधारणको पहुँचमा विस्तार गरिनु पर्छ । निजी क्षेत्रको स्वास्थ्य सेवा बलियो नियमनमा हुनु पर्छ । स्वास्थ्य पूर्वाधार विस्तारसँगै भइरहेको सेवाको गुणस्तरीयता र सुलभ पहुँचमा ध्यान पुर्याउन सक्नु पर्छ । उच्च तथा उच्च मध्यम वर्गका नागरिकले शुल्क तिरेर गुणस्तरीय सेवा पाउन सक्ने व्यवस्थाका साथै विपन्न तथा निम्न मध्यम वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने मोडालिटीमा अगाडि बढाउनु आवश्यक छ । दक्ष जनशक्ति विकास गरी तिनलाई स्वदेशमै राख्न सक्ने वातावरणका निम्ति पनि नीतिगत, कानुनी र संस्थागत प्रयास आवश्यक छ ।